औषधि व्यवसायीमाथि कुटपिट भएको भन्दै दोषीलाई कारबाही र सुरक्षाको माग


नेपालगन्ज । नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा बाँकेले औषधि व्यवसायीमाथि भएको कुटपिट तथा अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको भर्त्सना गरेको छ।

संघका साधारण सदस्य तथा कोहलपुर नगरपालिका–११ स्थित थापा मेडिकलका सञ्चालक गणेशबहादुर थापामाथि उनकै मेडिकलभित्र प्रवेश गरी यही असोज १७ गते (२०८३/०६/१७) औषधि उपचारको विषयलाई लिएर हातपात, कुटपिट, गालीगलौज तथा अभद्र व्यवहार गरिएको भन्दै संघले आपत्ति जनाएको हो। साथै, व्यवसायीको व्यावसायिक तथा चरित्र हत्या गर्ने उद्देश्यले घटनाको भिडियो सामाजिक सञ्जालमा समेत प्रसारण गरिएकोप्रति संघले निन्दा व्यक्त गरेको छ।

संघका कार्यवाहक अध्यक्ष पवनकुमार बाँनियाद्वारा जारी प्रेस विज्ञप्तिमा औषधि व्यवसायीहरूले प्रचलित कानुनको अधीनमा रही स्वास्थ्य सेवाका साथै राज्यको समग्र विकास निर्माणमा समेत योगदान पुर्‍याउँदै आएको स्मरण गराइएको छ। व्यवसाय सञ्चालनका क्रममा पसलमै प्रवेश गरी गैरकानुनी रूपमा कुटपिट तथा अभद्र व्यवहार गरिनुले व्यवसायीको व्यावसायिक सुरक्षामाथि नै गम्भीर प्रश्न उब्जाएको विज्ञप्तिमा उल्लेख छ।

औषधि व्यवसायीबाट कुनै गल्ती भएको भए कानुनबमोजिम निष्पक्ष छानबिन गरी प्रक्रिया अगाडि बढाउन संघको सहमति रहने, तर बिना आधार र प्रमाण कसैको चरित्र हत्या गर्ने कार्य स्वीकार्य नहुने संघले स्पष्ट पारेको छ।

उक्त घटनाको निष्पक्ष छानबिन गरी व्यवसायीमाथि हातपात तथा कुटपिट गर्ने र सामाजिक सञ्जालमा भिडियो सम्प्रेषण गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न संघले माग गरेको छ। साथै, औषधि व्यवसायीको व्यक्तिगत तथा पेसागत सुरक्षाको प्रत्याभूति गराउन स्थानीय प्रशासनसँग नेपाल औषधि व्यवसायी संघ, बाँकेले जोडदार माग गरेको छ।

थापा मेडिकल प्रकरण : आखिर के भएको थियो?

कोहलपुर । कोहलपुरस्थित थापा मेडिकलका सञ्चालक तथा स्वास्थ्यकर्मी गणेशबहादुर थापामाथि स्वास्थ्य जाँचका क्रममा एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। आरोपपछि उनी प्रहरी नियन्त्रणमा छन्। इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार युवतीले मौखिक उजुरी दिएपछि ६३ वर्षीय थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

घटनासँग सम्बन्धित सार्वजनिक भिडियो, दुवै पक्षका दाबी र घटनाको पृष्ठभूमिले यो प्रकरणलाई आरोपमा मात्र सीमित नराखी स्वास्थ्यकर्मीको पेसागत आचरण, बिरामीको अधिकार, स्वास्थ्य संस्थाको सुरक्षा तथा सामाजिक सञ्जालमा सार्वजनिक हुने सामग्रीको विश्वसनीयतासमेत परीक्षण गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

आखिर थापा मेडिकलमा के भएको थियो?

प्रहरीका अनुसार एक युवती स्वास्थ्य जाँचका लागि थापा मेडिकल पुगेकी थिइन्। युवतीले स्वास्थ्य परीक्षणका क्रममा आफूलाई अनुचित रूपमा छोएको आरोप लगाएकी छन्। घटनापछि सार्वजनिक भएको भिडियोमा युवतीले आक्रोश व्यक्त गर्दै थापामाथि हातपात गरेको देखिन्छ।

भिडियोमा अर्की महिलाले पनि थापामाथि विगतमा आफूलाई यस्तै व्यवहार गरेको आरोप लगाएको देखिन्छ। प्रहरीका अनुसार दुवै महिला कोहलपुरमा सञ्चालित एउटा क्याफेसँग सम्बन्धित छन्।

यता स्वास्थ्यकर्मी थापाले भने आफूले गलत नियतले कुनै व्यवहार नगरेको दाबी गरेका छन्। उनका अनुसार युवतीले पेट दुख्ने, वान्ता हुने, अमिलो पानी आउने तथा योनिबाट सेतो पानी बग्ने जस्ता स्वास्थ्य समस्या बताएपछि सोही लक्षणका आधारमा उपचार प्रक्रिया अघि बढाइएको थियो। पिसाब परीक्षण गर्न तथा वान्ता रोक्ने औषधि प्रयोग गर्न मेडिकलका कर्मचारीलाई भनिएको उनको भनाइ छ।

तर संवेदनशील अंगको परीक्षण गर्न खोजेको भन्दै युवतीले आपत्ति जनाएपछि विवाद बढेको र आफूले हातपातको सामना गर्नुपरेको थापाको दाबी छ।

घटनाको वास्तविकता भने सार्वजनिक भिडियोको एउटा दृश्य वा कुनै एक पक्षको दाबीबाट मात्र निष्कर्षमा पुग्ने विषय होइन। प्रहरी अनुसन्धान, चिकित्सकीय प्रमाण, प्रत्यक्षदर्शीको बयान तथा घटनासँग सम्बन्धित अन्य प्रमाणका आधारमा नै घटनाको वास्तविकता टुंगो लाग्नेछ।

प्रकाशित मितिः     १८ आश्विन २०८३, आईतवार १६:५७  |