
नेपालगन्ज, असोज १८ । बाँकेको कोहलपुरस्थित थापा मेडिकलका सञ्चालक तथा स्वास्थ्यकर्मी ६३ वर्षीय गणेशबहादुर थापामाथि उपचारका क्रममा एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत असोज १७ गते उपचारका लागि मेडिकलमा पुगेकी युवतीको संवेदनशील अंगमा अनावश्यक रूपमा छोएको तथा चलाएको भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियोपछि पीडितले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा थापासँग CMA प्रमाणपत्र मात्र रहेको र बिरामीको उपचारका लागि आवश्यक चिकित्सकीय इजाजतपत्र नरहेको खुलेको छ। उनको कार्य नेपाल मेडिकल काउन्सिलको व्यावसायिक आचरणसम्बन्धी मापदण्डविपरीत देखिएको प्रहरीको भनाइ छ।
थापामाथि करणीसम्बन्धी कसुरमा अनुसन्धान गर्न बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रतित सिंह राठौरले जानकारी दिए।
औषधि व्यवसायी संघको आपत्ति
यता नेपाल औषधि व्यवसायी संघ, बाँके शाखाले थापामाथि भएको भनिएको कुटपिट तथा अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघका अनुसार असोज १७ गते कोहलपुर नगरपालिका–११ स्थित थापा मेडिकलभित्र प्रवेश गरी औषधि उपचारको विषयलाई लिएर थापामाथि हातपात, कुटपिट, गालीगलौज तथा अभद्र व्यवहार गरिएको थियो। घटनाको भिडियो सामाजिक सञ्जालमा प्रसारण गरी व्यवसायीको व्यावसायिक तथा व्यक्तिगत प्रतिष्ठामा असर पुर्याउने प्रयास गरिएको भन्दै संघले आपत्ति जनाएको छ।
संघका कार्यवाहक अध्यक्ष पवनकुमार बाँनियाद्वारा जारी विज्ञप्तिमा औषधि व्यवसायीबाट कुनै गल्ती भएको भए प्रचलित कानुनअनुसार निष्पक्ष छानबिन गरी प्रक्रिया अघि बढाउन संघ तयार रहेको उल्लेख छ। तर, बिना आधार र प्रमाण कसैको चरित्र हत्या गर्ने कार्य स्वीकार्य नहुने संघको भनाइ छ।
संघले घटनाको निष्पक्ष छानबिन गरी थापामाथि हातपात तथा कुटपिट गर्ने र सामाजिक सञ्जालमा भिडियो सम्प्रेषण गर्ने व्यक्तिमाथि समेत कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।
साथै, औषधि व्यवसायीको व्यक्तिगत तथा पेसागत सुरक्षाको प्रत्याभूति गराउन स्थानीय प्रशासनसँग संघले माग गरेको छ।

