बाँके । बाँकेको हिरमिनिया क्षेत्रमा ममफली (बदाम) खन्ने र बजार पठाउने क्रम सुरु भएको छ। यहाँको बलौटो माटो ममफली खेतीका लागि उपयुक्त भएकाले किसानले लामो समयदेखि यसको खेती गर्दै आएका छन्।
पाकेको ममफली किसानले खेतबाट उखेल्दै संकलन गरी व्यापारीमार्फत बजार पठाइरहेका छन्। उत्पादित ममफली प्रतिक्विन्टल करिब ५ हजार रुपैयाँसम्ममा बिक्री हुने किसानहरू बताउँछन्।

ममफली खेतीका लागि अनुकूल माटो र वातावरण भए पनि किसानले राज्यबाट पर्याप्त सहयोग नपाएको गुनासो गरेका छन्। गुणस्तरीय बीउ, प्राविधिक सहयोग, सिँचाइ र बजारीकरणमा सहयोग नहुँदा खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न कठिन भएको उनीहरूको भनाइ छ।
किसानका अनुसार सरकारी सहयोग र बजारको सुनिश्चितता भए हिरमिनियामा ममफली खेतीको क्षेत्र विस्तार गर्दै आम्दानी बढाउन सकिन्छ।

