
नेपालगन्ज । नेपालगन्जमा होटलको लगानी बढ्दो छ। ठूला होटल थपिँदै छन्, पुराना होटलले क्षमता विस्तार गरिरहेका छन् र नयाँ तारे होटल निर्माण तथा प्रस्तावको क्रम पनि रोकिएको छैन। तर होटलको कोठा र लगानी बढ्ने गतिसँगै त्यसलाई धान्ने पाहुना र बजार पनि बढेको छ त ? अहिले नेपालगन्जको होटल व्यवसायमा यो प्रश्न महत्वपूर्ण बनेको छ।
होटल व्यवसायी संघ बाँकेका अनुसार नेपालगन्ज र कोहलपुर क्षेत्रमा होटल व्यवसायमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। जिल्लाभर साना–ठूला गरी करिब ३ हजार होटल, करिब ५ हजार कोठा र एकैपटक करिब १० हजार पाहुना राख्न सक्ने क्षमता रहेको व्यवसायीको तथ्यांक छ।
अर्थात् बाँकेको होटल बजारमा संरचना र आवास क्षमताको ठूलो विस्तार भइसकेको छ। त्यसमा तारे होटलको संख्या पनि थपिँदै गएको छ। पछिल्लो व्यवसायी तथ्यांकअनुसार नेपालगन्ज र कोहलपुरमा दुई पाँचतारे र दुई चारतारे होटल सञ्चालनमा छन् भने थप तारे होटल निर्माण तथा प्रस्तावको चरणमा छन्। नेपालगन्जको होटल बजारका लागि विमानस्थल प्रमुख आधारमध्ये एक हो। नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२५ मा नेपालगन्ज विमानस्थलबाट ५ लाख ३५ हजार ९२० यात्रु आवागमन गरेका थिए। सोही वर्ष नेपालगन्ज विमानस्थलबाट १३ हजार ४३४ उडान सञ्चालन भएका थिए।
तर विमानस्थलको यात्रु संख्या र होटलमा बस्ने पाहुनाको संख्या एउटै होइन। विमानस्थलबाट आउने–जाने यात्रुमध्ये ठूलो हिस्सा स्थानीय, सरकारी काम, व्यापार वा ट्रान्जिटका यात्रु पनि हुन्छन्। त्यसैले ५ लाखभन्दा बढी यात्रु आवागमनलाई होटलका लागि प्रत्यक्ष ग्राहक संख्या मान्न मिल्दैन।
यहीँबाट नेपालगन्जको होटल व्यवसायको वास्तविक चुनौती सुरु हुन्छ। नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका हो। भारतीय पर्यटकका लागि मानसरोवर यात्रा, बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्ज, लुम्बिनी र पश्चिम नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्यसम्म पुग्ने आधारका रूपमा नेपालगन्ज प्रयोग हुँदै आएको व्यवसायीहरू बताउँछन्। पछिल्लो समय कैलाश–मानसरोवर जाने भारतीय तीर्थयात्री नेपालगन्जको जमुनाहा हुँदै हुम्लातर्फ जाने क्रम पनि बढेको छ।
तर जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्ने भारतीयमध्ये कति नेपालगन्जका होटलमा बस्छन् भन्ने छुट्टै आधिकारिक तथ्यांक छैन। नाकाबाट दैनिक ठूलो संख्यामा मानिस र सवारी आवतजावत गरे पनि उनीहरू नेपाल किन आएका हुन् भन्ने प्रयोजनगत विवरण यकिन गर्न नसकिएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।
त्यसैले होटलमा लगानीको आधार बनाउँदा ‘भारतीय पर्यटक बढिरहेका छन्’ भन्ने सामान्य तथ्यभन्दा उनीहरू नेपालगन्जमा कति समय बस्छन्, कति खर्च गर्छन् र होटलमा कति रात बिताउँछन् भन्ने तथ्य अझ महत्वपूर्ण हुन्छ। बाँकेको होटल क्षेत्रमा नयाँ लगानी आउने क्रम भने रोकिएको छैन। नेपालगन्जमा पौवा वेस्टर्न नाममा पाँचतारे होटल निर्माणका लागि करिब एक अर्ब रुपैयाँ लगानी गर्ने योजना अघि बढेको छ। त्यसैगरी सोल्टी होटल आसपास अर्को पाँचतारे होटल निर्माण भइरहेको छ।

धम्बोझीमा पनि करिब १५ करोड रुपैयाँ लगानीमा कान्तिपुर प्लाजा सञ्चालनमा आइसकेको छ। नयाँ होटल थपिँदा आवास मात्र होइन, सम्मेलन, विवाह–भोज, रेस्टुरेन्ट, मनोरञ्जन तथा व्यावसायिक कार्यक्रमका लागि पनि प्रतिस्पर्धा बढेको छ। तर प्रश्न फेरि उही हो—यी सबै होटलका कोठा नियमित रूपमा भरिने गरी नेपालगन्जको बजार बढिरहेको छ ?
नेपालगन्जमा होटलको संख्या बढ्नु आफैंमा नराम्रो संकेत होइन। निजी क्षेत्रले ठूलो रकम लगानी गर्नु भनेको यहाँ पर्यटन, व्यापार र आवागमनको सम्भावना देखिएको संकेत हो। तर होटलको लगानीले प्रतिफल पाउनका लागि नेपालगन्जलाई केवल ‘ट्रान्जिट सिटी’ बाट ‘स्टे डेस्टिनेसन’ बनाउनुपर्ने चुनौती छ।
मानसरोवर जाने भारतीय पर्यटकलाई नेपालगन्जमा एक रात मात्र रोक्ने होइन, स्थानीय धार्मिक तथा सांस्कृतिक गन्तव्यसँग जोडेर थप समय बस्ने वातावरण बनाउन सकिन्छ। बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया, कर्णालीका गन्तव्य र भारतसँग जोडिएका धार्मिक–पर्यटकीय क्षेत्रलाई एउटै प्याकेजमा जोड्न सके होटलको बजार विस्तार हुन सक्छ। त्यस्तै सम्मेलन, प्रदर्शनी, विवाह–समारोह, व्यापारिक कार्यक्रम र खेलकुदका गतिविधिलाई नेपालगन्जमा आकर्षित गर्ने हो भने होटलको आन्तरिक बजार पनि बढाउन सकिन्छ।
नेपालगन्ज र कोहलपुरमा १२ अर्बभन्दा बढी लगानी भइसकेको तथ्यांक पुरानो भए पनि अहिले पनि व्यवसायी संघले यही परिमाणलाई उल्लेख गर्दै आएको छ। यसबीच नयाँ होटल थपिएका छन् र पुरानाले पनि लगानी बढाएका छन्। त्यसैले वास्तविक वर्तमान लगानी अझ बढी हुनसक्छ। तर त्यसको ठ्याक्कै अद्यावधिक विवरण सार्वजनिक छैन।
यही कारण अहिलेको बहस केवल ‘नेपालगन्जमा तारे होटल चाहिन्छ कि चाहिँदैन ?’ भन्ने होइन। मुख्य प्रश्न हो—‘नेपालगन्जले थपिँदै गरेका तारे होटलका कोठा नियमित रूपमा भरिने गरी पर्यटक, व्यापार र सम्मेलनको बजार बनाउन सक्छ कि सक्दैन ?’
होटलका भवन ठूला हुँदै जानु एउटा पक्ष हो। ती भवनभित्र नियमित पाहुना बस्नु, सम्मेलन हुनु, रेस्टुरेन्ट चल्नु र लगानीकर्ताले प्रतिफल पाउनु अर्को पक्ष। नेपालगन्जको होटल उद्योग अब यही दोस्रो परीक्षामा प्रवेश गरेको छ।

