प्रदेश च्याम्पियन सगरमाथा र गण्डकीको गुरुकुल उपाधिका लागि भिड्दै


 

नेपालगन्ज, २१ असोज । एसियन पेन्ट्स च्याम्पियन कपअन्तर्गत जारी यू–१८ फुटबल प्रतियोगिताको फाइनल खेल मंगलबार नेपालगन्ज रंगशालामा हुँदैछ। फाइनलमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल र गण्डकी प्रदेशको गुरुकुल विद्या सदन आमनेसामने हुँदैछन्।

फाइनल खेल असोज २२ गते मंगलबार दिउँसो ३ः३० बजे नेपालगन्ज रंगशालामा हुने आयोजकले जनाएको छ। प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका दुवै टोली केन्द्रीय उपाधिको यात्राका लागि मैदानमा उत्रनेछन्।

सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलले प्रतियोगिताको जिल्ला चरणमा बाँकेका ३२ टोलीलाई पछि पार्दै जिल्ला च्याम्पियन बनेको थियो। त्यसपछि दाङमा भएको लुम्बिनी प्रदेशस्तरीय खेलमा मेचीकाली सेकेन्डरी स्कुललाई पराजित गर्दै सगरमाथा प्रदेश च्याम्पियन बनेको हो।

लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुगेको सगरमाथा घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ। बाँकेबाट प्रदेशस्तरीय प्रतियोगितामा प्रतिनिधित्व गर्दै फाइनलसम्म पुगेकाले सगरमाथाको खेललाई नेपालगन्जका फुटबलप्रेमीले समेत चासोका साथ हेरेका छन्।

यता, गण्डकीको गुरुकुल विद्या सदनले पनि प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो। दुवै टोलीमा १८ वर्षमुनिका प्रतिभाशाली खेलाडीहरूको सहभागिता रहेकाले फाइनल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका एमडी कौशलराज पाण्डेयले बताउनुभयो।

पाण्डेयका अनुसार बाँकेका ३२ टोलीलाई पछि पार्दै जिल्ला च्याम्पियन बनेको सगरमाथा प्रदेश च्याम्पियन हुँदै केन्द्रीय च्याम्पियनको यात्रामा पुगेको हो। घरेलु मैदानमा समर्थकको साथ पाउने भएकाले सगरमाथाका खेलाडी उत्साहित रहेको उहाँले बताउनुभयो।

फुटबलको विकाससँगै युवा प्रतिभालाई राष्ट्रिय स्तरमा अघि बढाउने उद्देश्यले आयोजना भइरहेको यू–१८ प्रतियोगिताले नयाँ खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिएको छ।

नेपालगन्ज रंगशालामा हुने फाइनलमा सगरमाथाले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि आफ्नो नाममा लेखाउने हो वा गुरुकुलले उपाधि हात पार्ने हो भन्ने विषयले अहिले फुटबलप्रेमीको ध्यान तानेको छ।

प्रकाशित मितिः     २२ आश्विन २०८३, बिहीबार ०६:५२  |