काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पेसागत तथा बौद्धिक क्षेत्रको प्रतिनिधित्व गर्दै चार्टर्ड एकाउन्टेन्ट (सीए) हरूले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
आर्थिक, वित्तीय, उद्यम तथा प्रशासनिक क्षेत्रमा अनुभव हासिल गरेका तीन सीएले फरक–फरक समूह तथा भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
गण्डकी प्रदेश भूगोलअन्तर्गत खुला तर्फ खुमा प्रसाद अर्यालले उम्मेदवारी दिएका छन्। क्रम संख्या २ रहेका अर्याल चार्टर्ड एकाउन्टेन्टसँगै उद्यमी तथा समाजसेवीका रूपमा सक्रिय छन्। उनी जलविद्युत्, उद्योग तथा शिक्षा क्षेत्रमा समेत संलग्न छन्। ‘खुमा अर्याल फाउन्डेसन’मार्फत सामाजिक क्षेत्रमा पनि काम गर्दै आएका छन्।
त्यस्तै, दिलमान सिंह चन्द (सीए)ले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। क्रम संख्या ४० रहेका चन्दले पार्टीको नीति निर्माणसँगै वित्तीय पारदर्शिता र सुशासनका विषयमा पेसागत अनुभव उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी दिएका हुन्।

सीए पदम भट्टराईले भने पेसागत विषय विज्ञ खुला तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। क्रम संख्या १३ रहेका भट्टराईले आर्थिक तथा पेसागत विज्ञताको अनुभवलाई पार्टीको नीति निर्माणमा उपयोग गर्ने उद्देश्य राखेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ भन्ने नारासहित विभिन्न पेसा र क्षेत्रका व्यक्तिहरू नेतृत्वमा आउने प्रयासमा छन्। सीएहरूको उम्मेदवारीलाई पनि पार्टीको आर्थिक नीति, वित्तीय अनुशासन, पारदर्शिता र सुशासनका विषयमा पेसागत विज्ञताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।

