नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले बडादसैं, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार (असोज २९) संघका अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीना कुमारी श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेल, आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपाने तथा वाणिज्य कार्यालय बाँकेका प्रमुख सुरेन्द्र सिंहलगायतको उपस्थिति थियो।
त्यसैगरी घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख मोहन घर्तीमगर, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणका सशस्त्र प्रहरी नायब उपरीक्षक मणिन्द्रबहादुर शाही, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक शेखर खड्का, संघका पूर्वअध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्य र अब्दुल वाहिद मन्सुरीसहित संघका वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, उद्योगी व्यवसायी तथा पत्रकारहरूको सहभागिता थियो।

चाडपर्वको अवसरमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायी, सरकारी निकायका प्रतिनिधि तथा सरोकारवालाबीच शुभकामना आदानप्रदानसँगै आपसी समन्वय र सहकार्यका विषयमा अन्तरक्रिया गरिएको थियो।
संघले उद्योगी व्यवसायी तथा सरोकारवालाबीच सम्बन्ध सुदृढ बनाउँदै आर्थिक तथा व्यावसायिक गतिविधिलाई थप प्रभावकारी बनाउन कार्यक्रम आयोजना गरेको जनाएको छ।


