
शत्रुको आँखामा रावण
लङ्काको राजसभामा बाँधेर ल्याइएका हनुमान रावणलाई देखेर एकछिन स्तब्ध हुन्छन्: “अहो रूपमहो धैर्यमहो सत्त्वमहो द्युतिः” (वाल्मीकि रामायण, ५.४९.१७)। अर्को श्लोकमा उनी स्वीकार्छन्, अधर्म यति प्रबल नहुँदो हो त यी राक्षसराज इन्द्रसहित स्वर्गलोकका पनि रक्षक बन्न सक्थे । यो प्रशंसा रावणका कुनै समर्थकको होइन; उनका प्रतिद्वन्द्वीकै महाकाव्यमा अङ्कित छ। विजेताको ग्रन्थले नै यति स्वीकार्छ भने शताब्दियौँको कथावाचन, रामलीला र लोकस्मृतिमा कति पक्ष छाँटिए होलान्, अनुमान कठिन छैन।
इतिहास तटस्थ हुँदैन। विजेताले भूभाग मात्र होइन, स्मृति पनि जित्छ । पराजितको गुण या त विजेताको गौरवको पृष्ठभूमि बन्छ, या पूर्णतः मेटिन्छ। रावण यस प्रक्रियाका दक्षिण एसियाकै सबैभन्दा ठूला दृष्टान्त हुन्। तर एकरूप खलनायकको यो छवि सर्वमान्य कहिल्यै थिएन। जैन परम्पराको ‘पउमचरिय’ मा रावण विद्वान् र दुःखान्त नायक हुन्, भावी तीर्थङ्कर पनि। कम्बनले उनलाई भव्य गरिमा दिए; माइकल मधुसूदन दत्तको ‘मेघनादवध काव्य’ ले उनकै पक्षलाई वीरताको केन्द्रमा राख्यो। श्रीलङ्का र मध्यभारतका गोंड समुदायमा उनी आजसम्म पूज्य छन्।
यो लेख रावणलाई निर्दोष सिद्ध गर्ने प्रयास होइन । यो एउटा प्रश्नको खोजी हो: एउटै अपराधमा खुम्च्याइएको व्यक्तित्वको पाण्डित्य, शासनकला र सांस्कृतिक योगदान कसरी अदृश्य भयो?
पाण्डित्य: वेदपाठी दरबार, ग्रहविद्या र आयुर्वेद
वैदिक वंश। रावण ब्रह्मर्षि पुलस्त्यका पौत्र र मुनि विश्रवाका पुत्र थिए । परम्पराले उनलाई चार वेद र छ शास्त्रका मर्मज्ञ मान्छ। वाल्मीकि स्वयं साक्षी छन्: रात्रिको अन्तिम प्रहरमा हनुमान रावणको प्रासादबाट षडङ्ग वेदविद् र यज्ञकर्ताहरूको ब्रह्मघोष सुन्छन् (५.१८.२)। वेदपाठबाट बिहानी हुने राजधानीलाई “असभ्य राक्षसको नगरी” भन्नु पाठप्रतिको निष्ठा होइन, कथावाचनको चयन हो।
रावण संहिता। ज्योतिषको यो प्रसिद्ध संकलन रावणकृत मानिन्छ, जसमा ग्रह-राशिफल, नक्षत्र-फलादेश तथा उड्डीश र क्रियोड्डीश तन्त्र समेटिएका छन् । रावणको नाम युद्धकौशलसँग मात्र होइन, आकाश पढ्ने विद्यासँग पनि जोडिएको यसले देखाउँछ।
आयुर्वेद। श्रीलङ्काको गम्पहा विक्रमारच्ची आयुर्वेद संस्थानसँग आबद्ध डा. सी.पी. शर्माका अनुसार ‘अर्क प्रकाश’ (औषधशास्त्र), ‘नाडी परीक्षा’ (निदान), ‘कुमारतन्त्र’ (बालरोग) र ‘मर्मविज्ञान’ (शल्य) रावणका कृति मानिन्छन् । अर्क प्रकाश जडीबुटीको आसवनबाट ‘अर्क’ तयार गर्ने विधि र रोगानुसार प्रयोगको विस्तृत ग्रन्थ हो। कुमारतन्त्र पुत्र मेघनादको बालरोग निवारणका लागि रचिएको भन्ने परम्परा छ; सन् १९४१ मै विद्वान् पी.सी. बागचीले यसबारे शोध प्रकाशित गरेका थिए। बालचिकित्सालाई छुट्टै विधा मान्नु त्यस युगको उन्नत चिकित्सा-चिन्तन हो।
यी ग्रन्थको लेखकत्व आधुनिक इतिहासलेखनले प्रमाणित गर्दैन । तर मूल प्रश्न यही हो: भारतीय परम्पराले चिकित्सा र ज्योतिषका गम्भीर ग्रन्थ रावणकै नाममा किन सुरक्षित राख्यो? कुनै समाज बर्बरको नाममा विज्ञान जोड्दैन। स्मृतिमा रावण ज्ञानका अधिकारी थिए।
स्वर्णलङ्का: योजनाबद्ध राजधानी, समृद्ध प्रजा
सुन्दरकाण्डको तेस्रो सर्गमा हनुमानले देखेको लङ्का सुनौला प्राकारले घेरिएको, शरद्का बादलजस्ता श्वेत भवन भएको, उपवन र जलाशयले सुशोभित, इन्द्रको अमरावती समान वैभवशाली नगरी हो । सुदृढ तोरण, सुव्यवस्थित सैन्यचौकी र यस्तो सुरक्षा कि हनुमान स्वयं निष्कर्ष निकाल्छन्, यसलाई बलले मात्र जित्न असम्भव छ।
नगर-नियोजनको भाषामा यो सुरक्षा-प्राकार, हरित क्षेत्र, जलस्रोत व्यवस्थापन, राजमार्ग र सैन्य नागरिक संरचनाको स्पष्ट विभाजन भएको राजधानी हो। सुनको नगरी आफैँ बन्दैन; त्यसका लागि व्यापार, कर-प्रणाली, सीपयुक्त कारीगर र दीर्घकालीन राजनीतिक स्थिरता चाहिन्छ।
हनुमानले घर घर चहार्दा वाल्मीकिले जताततै समृद्धि, आभूषण, सङ्गीत र उत्सव देखाउँछन्; अभाव र दरिद्रताको दृश्य कतै छैन। यसैले लोकस्मृतिमा लङ्का “कोही भोको नरहेको राज्य” बन्यो। निष्कर्ष स्पष्ट छ: रावणको राज्य कुशासनले होइन, एउटा व्यक्तिगत निर्णयको परिणामले ढल्यो। प्रशासकका रूपमा रावण विफल थिएनन्।
कला र अध्यात्म: शिवभक्त कवि, सङ्गीतज्ञ राजा
शिव ताण्डव स्तोत्र। रावणलाई श्रेय दिइने यो स्तोत्र संस्कृत काव्यको ध्वनि-चमत्कार हो। पञ्चचामर छन्दमा लघु गुरु अक्षरको नियमित आवर्तनले पाठमा डमरुको तालजस्तो लय जन्माउँछ। ‘जटाटवीगलज्जल…’ बाट आरम्भ हुने पङ्क्तिहरूमा अनुप्रास, दीर्घ समास र नादात्मक शब्दविन्यासले शिवको ताण्डवलाई शब्दमै नचाउँछ। व्याकरण, छन्दशास्त्र र सङ्गीतको एकसाथ गहिरो ज्ञानबिना यस्तो रचना सम्भव छैन।

रावणहत्था। परम्पराअनुसार धनुषले बजाइने यो तारवाद्य रावणकै समयमा लङ्कामा जन्मियो, र रावण यसैले शिवको आराधना गर्थे । राजस्थान र गुजरातका राजपरिवारमा यो राजकुमारहरूले सिक्ने पहिलो वाद्य बन्यो। सङ्गीत-इतिहासकारहरूले यसलाई भायोलिनको सम्भावित पूर्वज मानेका छन्; एक मान्यताअनुसार सातौँदेखि दशौँ शताब्दीबीच अरब व्यापारीमार्फत यो मध्यपूर्व पुग्यो र रबाब तथा प्रारम्भिक धनुषवाद्यको आधार बन्यो। आधुनिक भायोलिन सोह्रौँ शताब्दीको इटालीमा परिपक्व भयो, तर धनुषवाद्यको यात्रा उल्टो पछ्याउँदा दक्षिण एसिया नपुगी सुख छैन।
मर्यादा र सीमा: अशोक वाटिकाको अर्को पाठ
सीताहरण रावणको अक्षम्य अपराध हो; कुनै तर्कले यसलाई धुन सक्दैन। तर अपराधभित्र पनि एउटा तथ्य उल्लेखनीय छ: अशोक वाटिकामा महिनौँ बन्दी रहँदा पनि रावणले सीताको इच्छाविरुद्ध उनलाई भोग गर्ने दुस्साहस गरेनन्। प्रस्ताव राखे, धम्की दिए, समयसीमा तोके, तर रेखा नाघेनन्।
वाल्मीकि यसको कारण पनि दिन्छन् । उत्तरकाण्डअनुसार अप्सरा रम्भामाथि गरेको दुर्व्यवहारपछि नलकूबरले श्राप दिएका थिए: अब कुनै स्त्रीलाई इच्छाविरुद्ध भोग गरे रावणको शिर सात टुक्रा हुनेछ। युद्धकाण्डमा रावण स्वयं महापार्श्वसामु स्वीकार्छन्, अप्सरा पुञ्जिकस्थलामाथि गरेको अमर्यादित आचरणपछि ब्रह्माले पनि यस्तै श्राप दिएका थिए: शिरका सय टुक्रा हुने। यसलाई केवल भय भन्न सकिन्छ। तर अर्को पाठ पनि उत्तिकै बलियो छ: स्वर्गसम्म विजय गरेका सम्राटले ब्रह्माण्डीय विधान र श्रापको मर्यादा स्वीकार्नु आफैँमा नियमप्रतिको आस्था हो। शक्तिशालीले आफूमाथि कुनै सीमा मान्नु नै शासनको पहिलो सर्त हो, र रावणभित्र त्यो चेत बाँकी थियो।
रावण दहन: पहिचानको एक तीखो प्रश्न
शास्त्रीय वंशावलीमा रावण ब्राह्मण हुन् । रावणवधपछि रामले ब्रह्महत्याको प्रायश्चित्तस्वरूप रामेश्वरममा शिवलिङ्ग स्थापना गरेको परम्परा यही पहिचानसँग जोडिन्छ। तर हरेक वर्ष उनै ब्राह्मण विद्वान्को पुत्ला सार्वजनिक रूपमा जलाइन्छ, र मूलधारको अधिकारवादी विमर्शले यसलाई पहिचानमाथिको अपमानका रूपमा कहिल्यै गम्भीरतासाथ उठाएको देखिँदैन।
एउटा विचार-प्रयोग गरौँ । यदि हरेक वर्ष “दुष्टताको प्रतीक” भनेर दलित पहिचान भएको कुनै पौराणिक पात्रको पुत्ला जलाइन्थ्यो भने के हुन्थ्यो? एनजीओ, आईएनजीओ र अभियन्ताहरूले यसलाई जातीय अपमान र घृणाको सांस्कृतिक पुनरुत्पादन भन्दै अहिलेसम्म यो परम्परा नै बन्द गराइसक्थे होलान्। प्रश्न असहज छ, तर अनिवार्य छ: के हाम्रो संवेदनशीलता पात्रको कर्मअनुसार चल्छ, वा पहिचानको सामाजिक स्थान हेरेर छानिन्छ?
प्रतिभा, शक्ति र अहङ्कार
रावणबाट आजको नेतृत्वले सिक्ने पाठ स्पष्ट छन्: ज्ञान र शक्तिको संयोजन, विज्ञान र कलाको संरक्षण, सुदृढ अर्थतन्त्र र योजनाबद्ध विकास रावणका हातमा तरबार मात्र थिएन; कलम, वीणा र औषधि पनि थिए।
तर उनको जीवनको सबैभन्दा कठोर पाठ यही हो: रावणको पतन बाहिरी शत्रुले होइन, भित्री अहङ्कारले गरायो । मन्दोदरी, विभीषण, मारीच र कुम्भकर्णसम्मले सचेत गराए; उनले सुनेनन्। सत्परामर्श दिएबापत विभीषण निष्कासित भए। असहमतिलाई द्रोह ठान्नु सत्ताको सबैभन्दा पुरानो रोग हो, र प्रकाण्ड विद्वत्ताले पनि आत्मसंयमको स्थान लिन सक्दैन।
युद्धपछि राम स्वयं विभीषणलाई भन्छन्: वैर मृत्युसँगै समाप्त हुन्छ, हाम्रो प्रयोजन पूरा भयो; अब यिनको अन्त्येष्टि गर, यिनी तिम्रा जस्तै मेरा पनि हुन् । विजेताले नै पराजितलाई दिएको यो सम्मानले एउटा सत्य उजागर गर्छ: रावणलाई केवल राक्षसमा खुम्च्याउनु रामकै उदारताको पनि अवमूल्यन हो।
इतिहासलाई न्याय दिनु भनेको नायक र खलनायकको स्थान साट्नु होइन; प्रत्येक पात्रलाई गुण र दोषसहित पूर्ण मानिसका रूपमा हेर्नु हो । रावण पण्डित पनि थिए, अपहरणकर्ता पनि; कुशल प्रशासक पनि थिए, अहङ्कारी पनि। उनको कथा विजेताको जयगान मात्र होइन, प्रतिभा कसरी अहङ्कारमा डुब्छ भन्ने शाश्वत चेतावनी हो।
लेखक बारे:
(लेखक चार्टर्ड एकाउन्टेन्ट हुन् जसलाई आर्थिक, कर प्रणाली, नीति–निर्माण र संस्थागत सुशासनमा गहिरो ज्ञान र अनुभव छ । व्यावसायिक जीवनसँगै, उहाँले राष्ट्रिय महत्वका विषय, सामाजिक चुनौती, तथा दीर्घकालीन विकासका मुद्दाहरूमा तथ्य–आधारित विश्लेषणात्मक लेखहरू लेख्ने गर्दै आउनुभएको छ । उहाँका लेखहरूमा स्पष्ट दृष्टिकोण, तथ्याङ्कको सशक्त प्रयोग, र समाधान केन्द्रित दृष्टिकोण देखिन्छ, जसले पाठकलाई सोच्न, प्रश्न गर्न र सचेत हुन प्रेरित गर्दछ । सम्पर्कः catej.dixit@gmail.com)

