लुम्बिनीमा १४ लाख ६४ हजार सवारीसाधन, माेटरसाइकल मात्रै १२ लाख ६१ हजार


 

एक वर्षमा ८४ हजार १५४ सवारीसाधन थपिए, मोटरसाइकलको संख्या ६.२२ प्रतिशतले बढ्यो

नेपालगन्ज । लुम्बिनी प्रदेशमा दर्ता भएका सवारीसाधनको संख्या एक वर्षमा ६.१० प्रतिशतले बढेर १४ लाख ६४ हजार ६१ पुगेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८२/८३ अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म प्रदेशमा उक्त संख्यामा सवारीसाधन दर्ता भएका हुन्।

आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म प्रदेशमा कुल १३ लाख ७९ हजार ९०७ सवारीसाधन दर्ता भएका थिए। एक वर्षको अवधिमा ८४ हजार १५४ सवारीसाधन थपिएका छन्।

प्रतिवेदनअनुसार प्रदेशमा दर्ता भएका कुल सवारीसाधनमध्ये मोटरसाइकलको संख्या १२ लाख ६१ हजार ३३४ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म मोटरसाइकलको संख्या ११ लाख ८७ हजार ५०९ थियो। समीक्षा अवधिमा मोटरसाइकलको संख्या ७३ हजार ८२५ अर्थात् ६.२२ प्रतिशतले बढेको हो।

त्यस्तै, मोटरसाइकल बाहेकका अन्य सवारीसाधनको संख्या दुई लाख दुई हजार ७२७ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या एक लाख ९२ हजार ३९८ थियो। एक वर्षमा अन्य सवारीसाधनको संख्या १० हजार ३२९ अर्थात् ५.३७ प्रतिशतले वृद्धि भएको छ।

यसरी हेर्दा प्रदेशमा दर्ता भएका कुल सवारीसाधनमध्ये मोटरसाइकलको हिस्सा करिब ८६ प्रतिशत छ। यसले प्रदेशमा व्यक्तिगत आवागमनका लागि मोटरसाइकलको प्रयोग व्यापक रहेको देखाउँछ।

सडक विस्तार र सहज कर्जाले सवारी खरिद बढायो

नेपाल राष्ट्र बैंकको अध्ययनले सवारीसाधनको संख्या बढ्नुमा सडक सञ्जालको विस्तार, उपभोक्ताको आकर्षण तथा सवारीसाधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट सहज कर्जा उपलब्ध हुनुलाई प्रमुख कारणका रूपमा औँल्याएको छ।

सडक पहुँच विस्तारसँगै व्यक्तिगत आवागमन र व्यावसायिक गतिविधि बढ्दा सवारीसाधनको माग पनि बढेको देखिन्छ। वित्तीय संस्थाबाट उपलब्ध हुने कर्जा सुविधाले सवारीसाधन खरिद गर्न उपभोक्तालाई थप सहज बनाएको छ।

सवारीसाधनको संख्या वृद्धिले आर्थिक गतिविधिको विस्तारलाई संकेत गरे पनि यससँगै सडकमा सवारी चाप, ट्राफिक व्यवस्थापन, पार्किङ, इन्धन खपत र वायु प्रदूषणजस्ता विषयमा चुनौती थपिन सक्छन्। त्यसैले सवारीसाधनको बढ्दो संख्याअनुसार सडक पूर्वाधार र सहरी यातायात व्यवस्थापनलाई पनि प्रभावकारी बनाउनुपर्ने देखिन्छ।

प्रकाशित मितिः     ३ कार्तिक २०८३, सोमबार १७:२६  |