
काठमाडौं, १० कात्तिक। औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका गैरउत्पादनमूलक उद्योग तथा सवारीसाधन मर्मत केन्द्र (ग्यारेज/वर्कसप) लाई उत्पादनमूलक उद्योगमा रूपान्तरण गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समयसीमा तोकेको छ।
लिमिटेडले पुरानो नियमावली खारेज गर्दै नयाँ ‘औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ लागू गरेपछि यस्तो व्यवस्था गरेको हो।
नयाँ नियमावलीअनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालित गैरउत्पादनमूलक उद्योग–व्यवसायलाई उत्पादनमूलक उद्योगमा रूपान्तरण गर्न तीन वर्षको समय दिइएको छ। रूपान्तरणका लागि प्रवेश शुल्कसमेत छुट दिने व्यवस्था गरिएको लिमिटेडले जनाएको छ।
त्यस्तै, यसअघि नै सञ्चालनमा रहेका सवारीसाधन मर्मत केन्द्र, ग्यारेज तथा वर्कसपले पाँच वर्षभित्र उत्पादनमूलक उद्योगमा रूपान्तरण हुनुपर्नेछ। तोकिएको समयभित्र रूपान्तरण नगरे त्यस्ता व्यवसायसँग गरिएको जग्गा तथा भवन बहाल सम्झौता रद्द गरिने चेतावनी लिमिटेडले दिएको छ।
नियमावलीको विनियम ५ अनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालनका लागि प्राथमिकतामा नपरेका तथा अनुपयुक्त ठहरिएका उद्योग–व्यवसायको साविक उद्देश्य कायम राखेर सम्झौता नवीकरण गरिने छैन।

नयाँ व्यवस्थाले उत्पादनमूलक उद्योगलाई गैरउत्पादनमूलक उद्योगमा हस्तान्तरण वा परिवर्तन गर्न, गैरउत्पादनमूलक उद्देश्य थप्न तथा त्यस्ता उद्योगसँग गाभिनसमेत निषेध गरेको छ।
यसअघि २०७१ सालमा नियमावली तथा निर्देशिका लागू गर्दै औद्योगिक क्षेत्रभित्र खुला प्रतिस्पर्धामार्फत जग्गा तथा भवन बहालमा दिने र उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिने प्रक्रिया सुरु गरिएको थियो। त्यसपछि नयाँ ग्यारेज तथा वर्कसप स्थापना नभए पनि पुराना सञ्चालनमा रहँदै आएका थिए।
नेपालमा पहिलो औद्योगिक क्षेत्रका रूपमा २०१९ सालमा बालाजु औद्योगिक क्षेत्र स्थापना भएको थियो। हाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभर १० वटा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ।
लिमिटेडका अनुसार ती औद्योगिक क्षेत्रभित्र ७ सयभन्दा बढी उद्योग सञ्चालनमा छन्। तिनमा करिब २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। सरकारले नयाँ नियमावलीमार्फत औद्योगिक क्षेत्रको जग्गा तथा पूर्वाधारलाई उत्पादनमूलक उद्योगको उपयोगमा ल्याउने लक्ष्य राखेको छ।

