
नेपालगञ्ज, १७ कात्तिक। अन्तर्राष्ट्रिय लेखा दिवस २०२६ को अवसरमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) नेपालगञ्ज शाखाले दिगोपन र वातावरणीय, सामाजिक तथा सुशासन (ESG) सम्बन्धी वेबिनार आयोजना गर्ने भएको छ।
शुक्रबार, नोभेम्बर ६ अर्थात् कात्तिक २१ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने वेबिनारमा लेखा व्यवसायी, उद्योगी–व्यवसायी, वातावरणविद्, प्राज्ञिक क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाबीच दिगो विकास र व्यावसायिक क्षेत्रमा ESG को भूमिकाबारे छलफल हुनेछ।
व्यवसाय तथा संस्थाहरूमा वातावरणीय प्रभाव, सामाजिक उत्तरदायित्व र सुशासनका विषयलाई महत्त्वका साथ हेरिन थालेको सन्दर्भमा दिगो अभ्यास, पारदर्शी प्रतिवेदन प्रणाली र जिम्मेवार निर्णय प्रक्रियामा व्यावसायिक लेखाकारको भूमिका महत्त्वपूर्ण रहेको आयोजकले जनाएको छ।
वेबिनारमा सीए तेजप्रकाश दीक्षित र सीए उपेन्द्र बुढा क्षेत्रीले विषयगत प्रस्तुति दिनेछन्। कार्यक्रमको सहजीकरण आइक्यान नेपालगञ्ज शाखाका संयोजक सीए प्रभञ्जन रेग्मीले गर्नेछन्।

त्यसैगरी, छलफलमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओली, वातावरण इन्जिनियर देपेन्द्र उप्रेती, उच्च अदालत बार एसोसिएसन नेपालगञ्जका पूर्वअध्यक्ष चित्रबहादुर शाही, एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपाल (ACAN) बाँके च्याप्टरका अध्यक्ष सीए लोक राज भाट, आइक्यानका पूर्व परिषद् सदस्य आरए अब्दुल करिम खान तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सीए विश्वराम भण्डारी सहभागी हुनेछन्।
कार्यक्रमबाट सहभागीहरूले दिगोपनको अवधारणा, ESG समायोजन तथा दिगो विकास प्रवर्द्धनमा लेखा व्यवसायको बदलिँदो भूमिकाबारे जानकारी प्राप्त गर्ने अपेक्षा गरिएको छ।
वेबिनारमा सहभागी हुनेहरूका लागि दुई घण्टाको निरन्तर व्यावसायिक शिक्षा (CPE) प्रदान गरिने आयोजकले जनाएको छ। इच्छुकले [यहाँ क्लिक गरी अनलाइन दर्ता](https://zoom.us/webinar/register/WN_xCo9NXAgRU-vry1PFssY-Q?utm_source=chatgpt.com) गर्न सक्नेछन्।
अन्तर्राष्ट्रिय लेखा दिवस २०२६ को सप्ताहव्यापी उत्सवअन्तर्गत आयोजना हुने कार्यक्रमको मूल सन्देश ‘हरेक कुरामा लेखा आवश्यक छ’ (Everything Needs Accounting) रहेको छ।

