सुर्खेत । स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, किसानको आयआर्जन वृद्धि तथा बजार पहुँच सहज बनाउने उद्देश्यले सुर्खेतको गुर्भाकोट नगरपालिकामा कृषि हाटबजार सञ्चालन हुने भएको छ।
गुर्भाकोट नगरपालिकाको आयोजनामा पहिलो चरणमा कात्तिक २१ गते मेहेलकुना खैरेनी चोक र कात्तिक २८ गते बोटेचौर बजारमा हाटबजार सञ्चालन गरिनेछ। दुवै स्थानमा शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म हाटबजार लाग्नेछ।
नगरप्रमुख हस्त पुनले स्थानीय उत्पादनको बजारीकरणलाई सहज बनाउँदै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले हाटबजार सञ्चालन गर्न लागिएको बताएका छन्। हाटबजारमार्फत किसानले आफ्ना उत्पादन बिक्री गर्ने अवसर पाउने र उपभोक्ताले स्थानीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने अपेक्षा गरिएको छ।
हाटबजारमा ताजा तरकारी, फलफूल, अन्नबाली, पशुपन्छीजन्य उत्पादन, हस्तकला तथा घरेलु उत्पादन र दैनिक उपभोग्य वस्तु उपलब्ध हुनेछन्।

नगरपालिकाका अनुसार नियमित रूपमा प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार मेहेलकुना तथा पहिलो र तेस्रो शनिबार बोटेचौरमा हाटबजार सञ्चालन गरिनेछ।
हाटबजारले स्थानीय किसानलाई बजारसँग जोड्नुका साथै कृषि उत्पादनको बिक्री वितरण बढाउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले किसान, व्यवसायी, उपभोक्ता तथा नगरवासीलाई हाटबजारमा सहभागी भई स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेको छ।
‘स्थानीय उत्पादनको समर्थन गरौँ, आफ्नै बजारमा खरिद गरौँ’ भन्ने नारासहित कृषि हाटबजार सञ्चालन गर्न लागिएको हो।


