नेपालगन्ज । सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै लायन्स क्लब अफ नेपालगञ्ज जीवनले खजुरा–२ स्थित बाल संरक्षण गृहमा रहेका १८ जना बालबालिकाका लागि खाद्य सामग्री सहयोग गरेको छ। क्लबले करिब १२ हजार रुपैयाँ बराबरको खाद्य सामग्री बाल संरक्षण गृहलाई हस्तान्तरण गरेको हो।
बालबालिकाको पोषण तथा दैनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले खाद्य सामग्री प्रदान गरिएको क्लबले जनाएको छ। क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष मोहम्मद ज्याउल हक हल्वाइले मानवीय सेवा र सामाजिक उत्तरदायित्व क्लबको प्रमुख उद्देश्य रहेको बताउनुभयो। उहाँले बालबालिकाको संरक्षण, हेरचाह तथा उज्ज्वल भविष्य निर्माणका लागि समाजका सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले सानो सहयोगले पनि आवश्यकतामा रहेका बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने बताउँदै सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। बालबालिकाको आवश्यकता पूरा गर्न समुदाय, संघसंस्था तथा सामाजिक क्षेत्रबाट हुने सहयोगले उनीहरूमा अपनत्व र सुरक्षित भविष्यको अनुभूति गराउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
त्यसैगरी क्लबका निवर्तमान अध्यक्ष तोजिन्द्र विकले बालबालिका समाजका भविष्य र अमूल्य सम्पत्ति भएकाले उनीहरूको संरक्षण तथा आवश्यकतामा सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। बाल संरक्षण गृहमा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र दैनिक आवश्यकतामा समाजका विभिन्न क्षेत्रको निरन्तर सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

क्लबका प्रथम उपाध्यक्ष लायन डा. प्रकाश नागले बाल संरक्षण गृहमा रहेका बालबालिकालाई सहयोग गर्नु केवल खाद्य सामग्री प्रदान गर्नु मात्र नभई उनीहरूप्रति माया, अपनत्व र सामाजिक जिम्मेवारी व्यक्त गर्नु पनि भएको बताउनुभयो। मानवीय सेवाका यस्ता कार्यले समाजमा सहयोग, सद्भाव र सकारात्मक सोचको विकास गर्न योगदान पुर्याउने उहाँको भनाइ थियो।
उहाँले सामाजिक सेवाका गतिविधिलाई औपचारिकतामा मात्र सीमित नगरी आवश्यकतामा रहेका वर्ग र समुदायसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो। बालबालिकाको संरक्षण र हेरचाहमा सम्बन्धित निकायसँगै सामाजिक संघसंस्था तथा नागरिकको भूमिका पनि महत्वपूर्ण हुने उहाँले बताउनुभयो।
लायन्स क्लब अफ नेपालगञ्ज जीवनले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न सहयोगात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। क्लबले आवश्यकतामा रहेका व्यक्ति तथा समुदायलाई लक्षित गर्दै स्वास्थ्य, शिक्षा, खाद्य सामग्री तथा अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जीवन शर्मा, निवर्तमान अध्यक्ष तोजिन्द्र विक, प्रथम उपाध्यक्ष लायन डा. प्रकाश नाग, सल्लाहकार बसन्त शर्मा लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
बाल संरक्षण गृहमा रहेका बालबालिकाको दैनिक आवश्यकता र पोषणमा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस सहयोगले उनीहरूलाई केही राहत पुग्ने विश्वास क्लबले व्यक्त गरेको छ।


