सरकारले रोक्नेझैँ गर्‍यो, पटका पट्किरहे…


 

नेपालगन्ज । तिहारमा पटका तथा आतिशबाजी नगर्न सरकारले आग्रह गरेको छ । प्रहरीले सीमा नाका, बजार तथा सार्वजनिक स्थानमा निगरानी बढाएको छ । पटका ओसारपसार, बिक्री–वितरण र प्रयोग नियन्त्रण गर्ने घोषणा पनि गरिएको छ । तर, नेपालगन्जसहित देशका विभिन्न शहरमा भने तिहारको रात पटका पड्किने क्रम रोकिएन ।

नेपाल प्रहरीले यस वर्ष तिहारअघि नै पटका, आतिशबाजी तथा पटकाजन्य पदार्थ प्रयोग नगर्न सर्वसाधारणलाई विशेष अनुरोध गरेको थियो । प्रहरीले पटका प्रयोगबाट आगलागी, चोटपटक, अङ्गभङ्ग, सम्पत्तिमा क्षति तथा ध्वनि र वातावरणीय प्रदूषणको जोखिम हुने जनाएको छ ।

प्रहरीको सक्रियताबीच पनि ठूलो परिमाणमा पटका नेपाल भित्रिएको तथ्यांकले देखाउँछ । सशस्त्र प्रहरी बलका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिक २० गतेसम्म देशका विभिन्न स्थानबाट १ करोड २१ लाख २८ हजार ६ सय ६९ रुपैयाँ बराबरको पटका बरामद भएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ६ लाख ५९ हजार ५ सय ४० रुपैयाँ बराबरको पटका बरामद गरिएको छ ।

प्रदेशगत रूपमा सबैभन्दा धेरै मधेश प्रदेशबाट ७४ लाख ३१ हजार ९ सय ९ रुपैयाँ बराबरको पटका बरामद भएको छ । लुम्बिनी प्रदेशबाट १८ लाख ३२ हजार २ सय १२ रुपैयाँ, सुदूरपश्चिमबाट १४ लाख ८० हजार ३ सय ९८ रुपैयाँ, कोशीबाट ११ लाख ४९ हजार ३ सय ५० रुपैयाँ र बागमतीबाट २ लाख ३५ हजार रुपैयाँ बराबरको पटका नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपालगन्जमा पनि विगतमा जमुनाहा नाकाबाट भारतको रुपैडियातर्फबाट लुकाइछिपाइ ल्याइएका पटकाजन्य वस्तु प्रहरीले बरामद गर्दै आएको छ ।

कानुनले के भन्छ ?

नेपालको विष्फोटक पदार्थ ऐन, २०१८ ले पटका र आतिशबाजीलाई समेत विष्फोटक पदार्थको परिभाषाभित्र राखेको छ । ऐनमा आतिशबाजी वा पटका सम्बन्धी कसुरमा एक हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यसैगरी, मुलुकी अपराध (संहिता) ऐन, २०७४ अन्तर्गत पनि इजाजतबिना विष्फोटक पदार्थ उत्पादन तथा प्रयोगसम्बन्धी कसुरमा कारबाहीको व्यवस्था रहेको कानुनी व्याख्या छ ।

सरकारले प्रतिबन्ध लगाउने, प्रहरी सीमा नाकामा पटका बरामद गर्ने र सर्वसाधारणलाई नपड्काउन आग्रह गर्ने क्रम चलिरहे पनि तिहारको रात नेपालगन्जका गल्लीदेखि देशका विभिन्न शहरसम्म पटका पड्किएको दृश्यले निषेध र कार्यान्वयनबीचको दूरी फेरि देखाएको छ ।

सरकारले रोक्नेझैँ गर्‍यो, प्रहरी बरामद गर्नेझैँ गर्‍यो—तर पटका भने पट्किरहे ।

प्रकाशित मितिः     २४ कार्तिक २०८३, सोमबार १२:०८  |