हेकुलीका विद्यार्थीलाई छात्रवृत्ति दिन पूर्वविद्यार्थीबाट अक्षय कोष स्थापना


 

दाङ । दंगीशरण गाउँपालिका–५ का जीवन बस्नेतले वीरेन्द्र माध्यमिक विद्यालय हेकुलीमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले एक लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ।

वीरेन्द्र माध्यमिक विद्यालय हेकुली पूर्वविद्यार्थी समाजको सोमबार सम्पन्न भेलामा बस्नेतले उक्त अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभएको हो।

समाजका अध्यक्ष विश्वराज पछल्डंग्याको अध्यक्षतामा भएको भेलामा दंगीशरण गाउँपालिका–४ का दिलिप शर्माले आफ्ना स्वर्गीय बुवा तथा विद्यालयका पूर्वशिक्षक गेहेन्द्रराज शर्माको नाममा ५१ हजार १५१ रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो।

भेलाले विद्यालयका लागि आर्थिक स्रोत जुटाउने तथा आवश्यक रकम उपलब्ध गराउन दंगीशरण गाउँपालिकासँग माग गर्ने निर्णयसमेत गरेको छ। त्यसैगरी पूर्वविद्यार्थी डिल्लीबहादुर ओलीले विद्यार्थी समाजको कोषमा ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।

भेलामा सहभागी पूर्वविद्यार्थीहरूले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आ–आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण बस्नेतले विद्यालयको वर्तमान अवस्था र आवश्यकताबारे जानकारी गराउनुभएको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशम ओलीले पूर्वविद्यार्थीहरूले आफ्नो ठाउँबाट निरन्तर सहयोग गरे विद्यालयको वृत्ति विकासमा महत्वपूर्ण टेवा पुग्ने धारणा राख्नुभयो।

प्रकाशित मितिः     २४ कार्तिक २०८३, सोमबार १८:१७  |