नक्कली भ्याट बिलमा ५३ करोडभन्दा बढी जरिवाना तोकिएका श्रीवास्तव पक्राउ


काठमाडौं। नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी कारोबार गरेको अभियोगमा ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना तथा कैद सजाय तोकिएका गुलसन श्रीवास्तव पक्राउ परेका छन्।

रौतहटको गरुडा नगरपालिका–१ का श्रीवास्तवलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा पक्राउ गरेको हो।

राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल जारी गरी कारोबार गरेको आरोपमा श्रीवास्तवविरुद्ध मुद्दा दायर गरेको थियो। विभागको आग्रहपछि सीआईबीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

श्रीवास्तवले आफू सञ्चालक रहेको साङ्ग्रिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयङ्क इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनलमार्फत झुटा तथा नक्कली भ्याट बिजक जारी गरी कारोबार गरेको अभियोगमा मुद्दा दायर भएको थियो।

राजस्व छलीसँग सम्बन्धित उक्त मुद्दामा अदालतबाट ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना तथा कैद सजाय तोकिएपछि उनलाई पक्राउ गरिएको हो।

प्रकाशित मितिः     ४ मंसिर २०८३, बिहीबार ०७:१६  |