दूधको मूल्य समायोजन गर्न किसानको माग, ‘किसानमारा’ मूल्यप्रति आक्रोश


 

नेपालगन्ज । दाना, चोकर, औषधि तथा पशुपालनमा प्रयोग हुने अन्य सामग्रीको मूल्य लगातार बढिरहेका बेला दूधको खरिद मूल्य भने अपेक्षाकृत न्यून रहेको भन्दै किसानले उचित मूल्य निर्धारण गर्न सरकार र सरोकारवाला निकायसँग माग गरेका छन्।

किसानका अनुसार अहिले उत्पादन लागत बढ्दै गएको अवस्थामा डेरी उद्योगले ४ फ्याट र ८ एसएनएफ भएको दूध प्रतिलिटर करिब ६५ रुपैयाँमा खरिद गर्ने गरेका छन्। तर त्यही दूधबाट बनेको मोही बजारमा प्रतिलिटर १०० रुपैयाँसम्ममा बिक्री हुने गरेको भन्दै किसानले मूल्य निर्धारण प्रणालीप्रति प्रश्न उठाएका छन्।

किसानहरूले दूध उत्पादनदेखि उपभोक्तासम्म पुग्ने मूल्य शृंखलाको निष्पक्ष अध्ययन गरी किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्यबीचको असन्तुलन हटाउनुपर्ने बताएका छन्। उनीहरूका अनुसार उत्पादनको मुख्य जिम्मेवारी किसानले वहन गरे पनि दूध तथा दुग्धजन्य पदार्थको अन्तिम मूल्यमा किसानको हिस्सा न्यून हुँदै गएको छ।

बर्दियाको बाँसगढीका किसान गोविन्द उपाध्यायले पनि यही समस्याका कारण पशुपालन व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएको बताउनुभयो। उहाँले ३० वटाभन्दा बढी गाई पाल्दै आउनुभएको छ। व्यावसायिक रूपमा गाईपालन गर्दा दाना, चोकर, औषधि, श्रम, पशु उपचार, गोठ व्यवस्थापनलगायतका खर्च निरन्तर बढिरहेको उहाँको भनाइ छ।

उपाध्यायका अनुसार किसानले दूध उत्पादन गर्न ठूलो लगानी र मेहनत गर्नुपर्छ। तर उत्पादन लागतअनुसार दूधको मूल्य नबढ्दा पशुपालन व्यवसायबाट किसानले अपेक्षित आम्दानी लिन सकिरहेका छैनन्।

“दाना र चोकरको मूल्य बढेको छ, पशुको उपचार र हेरचाहको खर्च पनि बढेको छ। तर दूधको मूल्य भने किसानले धान्न सक्ने गरी बढेको छैन,” उपाध्यायले भन्नुभयो, “किसानले उत्पादन गरेको दूधको उचित मूल्य नपाउने तर उपभोक्ताले दुग्धजन्य पदार्थ महँगोमा किन्नुपर्ने अवस्था हुनु हुँदैन।”

उहाँले दूधको मूल्य निर्धारण गर्दा किसानको वास्तविक उत्पादन लागतलाई आधार बनाउनुपर्ने बताउनुभयो। किसानले पशुपालन गरेर दूध उत्पादन गरिरहने वातावरण नबनेमा दीर्घकालीन रूपमा दूध उत्पादन घट्ने र त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने उहाँको भनाइ छ।

किसानहरूका अनुसार अहिलेको समस्या केवल दूधको खरिद मूल्यमा मात्र सीमित छैन। पशुपालनमा प्रयोग हुने दाना, चोकर, औषधि, खोप, श्रमिकको ज्याला तथा पशु उपचारको लागत बढ्दा किसानको उत्पादन खर्च हरेक वर्ष बढिरहेको छ। तर दूधको मूल्य निर्धारण भने त्यसअनुसार पुनरावलोकन हुन नसकेको उनीहरूको गुनासो छ।

यसले साना तथा मध्यम किसानलाई झनै प्रभावित बनाएको छ। ठूलो संख्यामा गाईभैँसी पालेर व्यवसाय सञ्चालन गर्ने किसानका लागि प्रतिलिटर केही रुपैयाँको मूल्य अन्तरले पनि मासिक आम्दानीमा ठूलो फरक पार्ने उनीहरूको भनाइ छ।

किसानहरूले दूधको मूल्य निर्धारण गर्दा फ्याट र एसएनएफका आधारमा वैज्ञानिक मूल्य निर्धारण प्रणाली, उत्पादन लागत, पशुको आहार खर्च, श्रम, औषधि तथा अन्य सञ्चालन खर्चलाई समेट्नुपर्ने माग गरेका छन्।

उनीहरूले डेरी उद्योग, किसान, उपभोक्ता तथा सरकारबीच समन्वय गरेर दूध तथा दुग्धजन्य पदार्थको मूल्य शृंखला पारदर्शी बनाउनुपर्ने बताएका छन्। किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीचको अन्तर कहाँ र किन बढिरहेको छ भन्ने विषयमा पनि सम्बन्धित निकायले अध्ययन गर्नुपर्ने उनीहरूको माग छ।

किसानहरूले समयमै समस्या सम्बोधन नगरे पशुपालन व्यवसायबाट किसान पलायन हुने जोखिम रहेको चेतावनी दिएका छन्। “यस्तै अवस्था रहिरहने हो भने किसानहरू गाईभैँसीसहित सडकमा उत्रिन बाध्य हुन सक्छन्,” किसानहरूको भनाइ छ।

दूध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य राखेको मुलुकमा किसानलाई टिकाइराख्न उत्पादन लागतअनुसार दूधको न्यूनतम मूल्य सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ। किसानको लागत, डेरी उद्योगको सञ्चालन खर्च र उपभोक्ताको क्रयशक्तिलाई समेत ध्यानमा राखेर वैज्ञानिक तथा न्यायोचित मूल्य निर्धारण गर्नुपर्ने माग बढ्दै गएको छ।

अब सम्बन्धित सरकारी निकाय, डेरी उद्योग र किसानबीच संवाद गरी दूधको वास्तविक उत्पादन लागत अध्ययन गर्ने र सोही आधारमा मूल्य निर्धारण गर्ने विषयमा तत्काल पहल आवश्यक देखिएको छ।

प्रकाशित मितिः     ४ मंसिर २०८३, बिहीबार ०८:२८  |