राजापुर । बर्दियाको राजापुर नगरपालिका–५, बदालपुरमा सञ्चालित राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालि (राजापुर सुगर मिल) दोस्रो उत्पादन वर्षमा प्रवेश गरेको छ। गत वर्षको परीक्षण उत्पादन सफल भएपछि उद्योग व्यवस्थापनसँगै उखु किसानसमेत उत्साहित भएका छन्।
यस वर्ष उद्योगले चिनी प्रशोधन कार्य अघिल्लो वर्षभन्दा चाँडै सुरु गर्ने तयारी गरेको छ। करिब दुई अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको उद्योगमा दुई हजार उखु कृषक जोडिएका छन्।

उद्योग सञ्चालनसँगै स्थानीयस्तरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सयौँले रोजगारी पाएका छन्। राजापुर क्षेत्रमा उखु खेती विस्तार, किसानको उत्पादनको बजार सुनिश्चितता र स्थानीय आर्थिक गतिविधि बढाउन उद्योगको सञ्चालनले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
गत वर्षको परीक्षण उत्पादनबाट प्राप्त अनुभवका आधारमा यस वर्ष चिनी प्रशोधनलाई थप व्यवस्थित बनाउने तयारी उद्योगले गरेको छ। उद्योगको निरन्तर सञ्चालनले उखु किसानलाई प्रोत्साहन गर्नुका साथै राजापुर क्षेत्रको कृषि तथा औद्योगिक गतिविधिलाई समेत थप गति दिने अपेक्षा गरिएको छ।


