चिसापानी–राजकाँडा केबलकार एक महिनाभित्र सञ्चालनमा आउने


 

नेपालगन्ज । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक महिनाभित्र व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सञ्चालनको अन्तिम तयारी भइरहेको जानकारी दिएका छन्।

ढकालका अनुसार सुदूरपश्चिममा निर्माण भइरहेको यो आयोजना केवल केबलकारमा सीमित नरही एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। आयोजनाको माथिल्लो तथा तल्लो स्टेसनका अधिकांश संरचना तयार भइसकेका छन्।

गुरुयोजना अनुसार स्तरीय होटल, रिसोर्ट, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, पदमार्ग तथा धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिरलगायतका संरचना पनि क्रमशः निर्माण भइरहेका छन्।

ढकालले केबलकार सञ्चालनमा आएपछि चिसापानी र राजकाँडामा पर्यटकको चहलपहल बढ्नुका साथै पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार पर्यटकको बसाइ बढ्दा स्थानीय यातायात, होटल तथा साना व्यवसाय र कृषि उपजले बजार पाउनेछन् भने स्थानीय युवाका लागि रोजगारीका अवसरसमेत सिर्जना हुनेछन्।

“यसलाई केवल एउटा केबलकार मात्र नभई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेका छौँ,” ढकालले भनेका छन्, “स्थानीयको जीवनस्तर र स्थानीय अर्थतन्त्र उकास्दै यो परियोजना समग्र सुदूरपश्चिम र देशकै एक गौरवको आयोजना बन्ने विश्वास लिएको छु।”

कर्णाली पुल र चिसापानीको प्राकृतिक सौन्दर्यका कारण यस क्षेत्रमा आन्तरिक तथा भारतीय पर्यटकको समेत आगमन हुँदै आएको भन्दै ढकालले केबलकार निर्माणको खबरले नै चिसापानी–राजकाँडा क्षेत्रमा पर्यटकीय चहलपहल बढेको बताएका छन्।

परियोजना यहाँसम्म आइपुग्न स्थानीय बासिन्दा, स्थानीय तथा प्रदेश सरकार, संघीय सरकार, सरोकारवाला निकाय, स्थानीय साझेदार तथा इन्जिनियर र परियोजना टिमको महत्वपूर्ण योगदान रहेको ढकालले उल्लेख गरेका छन्।

प्रकाशित मितिः     ८ मंसिर २०८३, सोमबार १७:१२  |