नेपालगन्ज–दिल्ली हवाई ‘रुट’को ‘लविङ’मा योगेश भट्टराई, भन्छन्– ‘यही नै प्राथमिकता हो’


 

नेपालगन्ज । पूर्वपर्यटनमन्त्री तथा नेकपा एमालेका नेता योगेश भट्टराईले भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सकारात्मक भए पनि नेपालको प्राथमिकता महेन्द्रनगर र नेपालगन्जबाट अन्तर्राष्ट्रिय हवाई रुट सञ्चालन गर्नु हुनुपर्ने बताएका छन्।

भट्टराईले भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा सही भएको भन्दै त्यसको स्वागत गरेका छन्। तर भैरहवा र पोखरा विमानस्थलमा जहाज अवतरणका लागि प्रस्तावित हवाई रुट प्राविधिक रूपमा कति सहज हुन्छ भन्ने कुरा सम्बन्धित प्राविधिक अध्ययनपछि मात्रै स्पष्ट हुने उनको भनाइ छ।

उनले आफूले बुझेअनुसार भैरहवाका लागि ६ हजार ५०० फिट र पोखराका लागि १५ हजार फिट उपयुक्त हुने उल्लेख गर्दै भारतीय प्राविधिक पक्षले यसलाई स्वीकार गर्छ वा गर्दैन भन्ने विषय महत्वपूर्ण रहेको बताएका छन्।

भट्टराईले दुईतर्फी हवाई रुटका विषयमा नेपालको प्राथमिकता भने महेन्द्रनगर र नेपालगन्ज नै हुनुपर्ने स्पष्ट गरेका छन्। यससँगै लामो समयदेखि माग हुँदै आएको नेपालगन्ज–दिल्ली नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता देखिन्छ।

नेपालगन्ज विमानस्थल पश्चिम नेपालको प्रमुख हवाई केन्द्र भए पनि यहाँबाट भारतको राजधानी दिल्लीलगायत भारतीय सहरमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको छैन। नेपालगन्ज–दिल्ली उडान सञ्चालन भए पश्चिम नेपालका यात्रुका लागि दिल्लीसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना हुनुका साथै पर्यटन, व्यापार तथा व्यवसायिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी बाँके, बर्दिया, कर्णाली तथा सुदूरपश्चिमका यात्रुले भारतको राजधानी दिल्ली जान अहिले काठमाडौं वा अन्य विमानस्थल हुँदै यात्रा गर्नुपर्ने अवस्था छ। त्यसैले नेपालगन्ज–दिल्ली उडानका लागि आवश्यक हवाई प्रवेश रुट उपलब्ध गराउने विषयलाई नेपालले भारतसँगको हवाई वार्तामा प्रमुख एजेन्डा बनाउनुपर्ने आवाज उठ्दै आएको छ।

भट्टराईले सन् २०१९ तिर दुई देशका सम्बन्धित अधिकारीबीच हवाई रुटका विषयमा भएको छलफल कहाँ पुगेको थियो र कार्यान्वयनको चरणमा पुग्नै लाग्दा किन रोकियो भन्ने विषय आफूले कुनै बेला सार्वजनिक गर्ने बताएका छन्।

उनको भनाइले भैरहवा र पोखराको हवाई रुट विस्तारसँगै नेपालगन्ज–दिल्ली उडान र पश्चिमी नेपालका लागि अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्गको पुरानो मागलाई समेत पुनः बहसमा ल्याएको छ।

भट्टराईले आफ्नो भनाइको अन्त्यमा लेखेका छन्— “Always Nations First !”

प्रकाशित मितिः     १० मंसिर २०८३, बुधबार ०९:३१  |