अटो र घरजग्गामा बैंकको लगानी उच्च


नेपालगन्ज : वाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कम्तिमा २५ प्रतिशत कर्जा लगानी गर्नु पर्ने व्यवस्था छ ।  २५ प्रतिशतमध्ये कृषिमा १० र उर्जा तथा पर्यटन क्षेत्रमा कम्तिमा १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था रहे पनि बैंकहरु भने तोकिएको सीमासम्म पुग्न सकेका छैनन्। असोज मसान्तसम्ममा वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ६. ४ र उर्जा तथा पर्यटनमा ७. ६ प्रतिशतमात्र कर्जा लगानी गरेका छन् ।

व्यवासायिक कृषि अत्यन्त न्यून भएकाले तोकिएको सीमामा पुग्न नसकिएको बैंकर बताउँछन् । ‘यहाँ ठूला ठूला कृषि फर्महरु छैनन्, भर्खर व्यवसायिकता हुँदैछ’ एक एक बैंकरले भने  ‘यसको अर्थ हामीले कर्जा नदिएर कम भएको भन्ने होइन ।’ प्राथमिकताप्राप्त क्षेत्रमा तोकिएको कर्जा नपुर्‍याए पनि सवारीसाधन तथा पार्टपूर्जा र घरजग्गामा भने कर्जा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।चालु आर्थिक वर्षको पहिलो तीन महिनामा अघिल्लो तीन महिनाको अवधिभन्दा १५ प्रतिशतले सवारीसाधन तथा पार्टपूर्जामा कर्जा बढेको छ । असोज मसान्तसम्म घरजग्गामा भएको लगानी कुल कर्जाको ६३. १ प्रतिशत पुगेको छ ।

यी क्षेत्रमा बढेको कर्जाका कारण केही बैंकले सिसिडी रेसियोको सीमा समेत मिचेका छन् । प्राथमिक पुँजी तथा निक्षेपबाट बैंकहरूले दिने कर्जाको हिस्सा नै  सिसिडी रेसियो हो ।  राष्ट्र बैंकले वर्षभरको कर्जा वृद्धिको सिलिङ २० प्रतिशत तोकेको छ । यही दरमा कर्जा बढाउँदा ३० प्रतिशत नाघ्ने देखिन्छ । स्थानीय तहको खातामा रहेको पैसासमेत कर्जाका रूपमा परिचालन हुन थालेकाले यो दर अझ बढ्न सक्छ । कर्जा विस्तारका सवालमा बैंकहरु सजग हुनुपर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । बैंकहरुले बढाएको कर्जाले पछिल्लो समय व्यापार घाटा र सञ्चिति विदेशी मुद्रामै असर देखिएको छ ।

बैंकिंग खबरबाट

प्रकाशित मितिः     २९ मंसिर २०७५, शनिबार २०:४२  |