भन्सारमा प्रयोग हुने शब्दावली सम्बन्धी जानकारी


बैकिङ प्रणाली अन्तर्गत भुक्तानी भन्नाले के के लाई बुझाउँछ ?

बैकिङ प्रणाली अन्तर्गत भुक्तानी भन्नाले LC, Draft, TT, CAD, D/P, D/A मार्फत हुने भुक्तानी र अग्रिम भुक्तानी समेतलाई बुझाउँछ ।

 प्रज्ञापनपत्रलाई कसरी प्रस्तुत (Submit) गरिन्छ ?

ASYCUDA पद्धति लागू भएको भन्सार नाकामा विद्युतीय माध्यमबाट सम्प्रेषण गर्न सकिन्छ भने अन्य कार्यालयहरुमा उपस्थित भई दर्ता गराउनु पर्ने हुन्छ ।

 कागजातहरु 
प्रज्ञापनपत्र भनेको के हो ?

निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तुको विवरण घोषणा गर्ने फाराम हो ।

 विजक भन्नाले के बुझिन्छ ?

विक्रेताले आफूले विक्री गरेको मालवस्तुको मूल्य लगायत मालवस्तुको विवरण उल्लेख गरी क्रेताको नाममा जारी गरेको कागजात हो । यसमा भूक्तानी शर्त र तरिका समेत उल्लेख भएको हुन्छ ।

प्रतीतपत्र भनेको के हो ?

मालवस्तुको निकासी वा पैठारीको सन्दर्भमा बैंकद्धारा मालवस्तुको मूल्य भूक्तानी गर्ने प्रक्रियागत कागजात हो । यो एक प्रकारले पैठारीकर्ता र निकासीकर्ता वीच बैंकको मध्यस्ततामा भएको कागजात हो ।

 सी.टी.डी. भनेको के हो ?

यो Customs Transit Declaration को छोटकरी रुप हो । नेपाल र भारत वीच भएको दुई पक्षीय व्यापार तथा पारवहन सन्धीमा उल्लेख भए अनुसार भारत भई स्थलमार्गबाट नेपालमा तेश्रो मुलुकबाट पैठारी हुने र नेपालबाट तेश्रो मुलुकमा निकासी हुने मालवस्तुको लागि नेपालको तोकिएको भन्सार विन्दुसम्म ल्याउन र नजिकको वन्दरगाहसम्म ढुवानी गर्दा भर्नु पर्ने फाराम हो । यसको उद्देश्य भारतीय भूमिमा मालवस्तुको वीचलन हुन नपाओस भन्ने नै हो । निकासी हुने मालवस्तुको हकमा नेपालको सम्बन्धित भन्सार विन्दुबाट र पैठारी हुने मालवस्तुको हकमा भारतको कोलकाता वा हल्दिया वा फुलबारीबन्दरगाहबाट यस प्रकारको पत्र जारी गरिन्छ ।

 प्याकिङ्ग लिष्ट भन्नाले कस्तो कागजातलाई जनाउँछ ?

मालवस्तुको परिमाण के कति छ र कुन कुन अवस्थामा के कतिको संख्या छ र कसरी प्याक गरिएको छ भन्ने सम्बन्धमा विस्तृत जानकारी दिने गरी तयार गरिएको कागज पत्रनै प्याकिङ्ग लिष्ट हो । मालवस्तु आयात निर्यात गर्दा यो कागजात आवश्यक पर्दछ ।

B/L भन्नाले कस्तो कागज पत्रलाई जनाउँदछ ?

यसको पूर्ण अर्थ विल अफ लेडिङ्ग हो । पानी जहाजबाट मालवस्तुको निकासी/पैठारी गर्दा shipping company ले जारी गर्ने कागजात हो

 B/L मा के के कुराहरु उल्लेख गरिएका हुन्छन् ?

यसमा निकासी/पैठारीकर्ताको नाम, ठेगाना, मालवस्तुको नाम, परिमाण, कन्टेनर नम्वर, सिल नम्वर, मालवस्तु लोड गरिएको स्थान र मिति, ढुवानी भाडा र अन्तिम वन्दरगाहको नाम समेत उल्लेख गरिएको हुन्छ । समुद्री मार्गबाट मालवस्तुको निकासी/पैठारी गर्दा यसको आवश्यकता पर्दछ ।

 Airways Bill भनेको के हो ?

हवाईजहाजबाट मालवस्तु ढुवानी गर्दा सम्बन्धित एयरलाइन्सले मालवस्तु ढुवानी सम्बन्धमा जारी गर्ने कागजात हो । यसमा आयात/निर्यातकर्ताको नाम, ठेगाना, मालवस्तुको विवरण, जहाजमा मालवस्तु राखेको मिति र स्थान एवं ढुवानी भाडा लगायत अन्तिम विन्दुको नाम समेत उल्लेख गरिएको हुन्छ ।

उत्पत्तीको प्रमाणपत्र भनेको के हो ?

कुनै मालवस्तु जुन देशमा बनेको वा उत्पादन भएको हो सो मुलुकको अधिकार प्राप्त निकायले उक्त मालवस्तुको उत्पादन सोही मुलुकमा भएको हो भनी जारी गरेको कागजात नै उत्पत्तीको प्रमाण पत्र हो ।

उत्पत्तीको प्रमाणपत्र कसले जारी गर्दछ ?

यस प्रकारको प्रमाणपत्र सरकारबाट तोकिएको निकायबाट जारी हुन्छ । सामान्यतया सम्बन्धित मुलुकको चेम्वर अफ कमर्शबाट जारी गरिन्छ भने नेपालको सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघ एवं नेपाल उद्योग परिसंघबाट पनि जारी गरिन्छ । कुनै कुनै मुलुकको मालवस्तु उत्पादकले पनि यस प्रकारको प्रमाणपत्र जारी गर्ने प्रचलन छ ।

 जि.एस.पी. भनेको के हो ?

यसको पूर्ण रुप Generalized System of Preference हो । नेपालीमा यसलाई सामान्य ग्राह्यता प्रणाली भनिन्छ । विकसित मुलुकहरुले विकासोन्मुख मुलुकको मालवस्तुलाई आफ्नो मुलुकमा प्रवेशका लागि लाग्ने महसुल करमा पूर्ण वा आंशिक छुट दिने प्रणाली/व्यवस्था
हो ।

जि.एस.पी. को उद्देश्य के हो ?

अल्पविकसित तथा विकासोन्मुख देशहरुको निर्यातमा वृद्धि गरी तिनीहरुको आर्थिक तथा औद्योगिक विकासमा सहयोग पुराउनु हो । संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलन (UNCTAD) को पहलमा यस प्रकारको व्यवस्था सन् १९७१ देखि शुरु भएको हो ।

जि.एस.पी. कसरी जारी गरिन्छ ?

यो एउटा निश्चित ढाँचाको फाराम हो । फाराममा उल्लेख भएका सम्पूर्ण विवरणहरु भर्नु पर्दछ । नेपालमा यस्तो फाराम व्यापार तथा निकासी प्रबर्धन केन्द्रले उपलब्ध गराउँदछ र जि.एस.पी. मा भन्सार अधिकृतले मालवस्तु निकासी हुँदा प्रमाणित गरी पठाउनु पर्दछ ।

नेपाललाई जी. एस.पी. सुविधा प्रदान गर्ने मुलुकहरु कति छन् ?

हालसम्म ती मुलुकहरुको संख्या २८ छ । तिनीहरुको नामावली यस प्रकार छ:

१. बेल्जियम

२. जर्मनी

३. नेदरल्याण्ड

४. फ्रान्स

५. लक्जेम्वर्ग

६. पोर्चुगल

७. स्पेन

८. ग्रीस

९. इटाली

१०. डेनमार्क

११. संयुक्त अधिराज्य

१२. आयरल्याण्ड

१३. अष्ट्रिया

१४. फिनल्याण्ड

१५. नर्वे

१६. स्वीडेन

१७. स्वीटजरल्याण्ड

१८. बुल्गेरीया

१९. हंगेरी

२०. पोल्याण्ड

२१. स्लोभाक

२२. रुस

२३ जापान

२४. अष्ट्रेलिया

२५. न्यूजिल्याण्ड

२६. क्यानाडा

२७. संयुक्त राज्य अमेरीका

२८. दक्षिण कोरिया

 वि. वि. नि. फाराम ४ भनेको के हो ?

विदेशी विनिमय नियन्त्रणको छोटो रुप हो । परिबत्य विदेशी मुद्रामा प्रतीत पत्र खोल्ने बैंकले विदेशबाट मालवस्तु चलानी भएको कागजात प्राप्त हुनासाथ सो मूल्य बरावरको रकम पैठारीकर्ताबाट असुल गरी भूक्तानी पठाउँदछ । भन्सार प्रयोजनको लागि प्रतितपत्रमा उल्लेख भए बमोजिमको भूक्तानी गएको रकम नेपाल राष्ट्र बैंकबाट निर्धारित ढाँचाको फाराम सम्बन्धित बैंकले पठाउँदछ । यसैलाई वि.वि.नि. फा. ४ भनिएको हो । भन्सार कार्यालयले मालवस्तु जाँचपास गरिसके पछि वि.वि.नि. फारामलाई प्रमाणित गर्दछ । यसको उद्देश्य बैदेशिक मुद्रा अपचलन हुनबाट रोक्नु हो । विदेशी मुद्रामा खोलिएको प्रतीतपत्रको पक्षमा मालवस्तुको भन्सार जाँचपास गराउँदा यो फाराम अनिवार्य रुपमा पेश गर्नु पर्दछ ।

 Confirmity of Production भन्नाले के बुझिन्छ ?

यो उत्पादनको तादात्म्यता हो यसलाई जडान रेखा परीक्षण प्रणाली पनि भनिन्छ । सि.ओ.पी. को उद्देश्य प्रमाणित गरी उत्पादन गरिएको तर निष्काशन मापदण्ड पूरा नगरेको सवारी साधनको पहिचान गर्न नियमन अधिकारीलाई सक्षम तुल्याउन, समस्या सुल्झाउनको लागि उपचारात्मक उपायहरु अवलम्वन गर्नु र मापदण्ड पालना नगर्ने सवारी साधानहरुको निर्माणलाई निरुत्साहित गर्नु हो ।

Type Approval (TA) भन्नाले के बुझिन्छ ?

सवारी साधन निर्माताले धुँवा निष्काशन, वाष्प निष्काशन र प्रदूषण नियन्त्रण उपकरणको टिकाउपना संग सम्बन्धित परीक्षण गर्ने निकाय समक्ष सवारी साधनको प्रकार अनुमोदनको लागि आवेदन दिएपछि इन्जिनको बनावट, वाष्पिक निष्काशन प्रणाली, प्रदूषण नियन्त्रणको संयन्त्र लगायतका विभिन्न किसिमको परीक्षणको शर्तहरु पूरा गरेमा मात्र त्यस्तो सवारी साधनलाई TA को स्वीकृति प्रदान गरिन्छ । नयाँ सवारी साधन पैठारीका लागि COP र TA अनिवार्य रुपमा चाहिन्छ । यसको उद्देश्य सवारी साधनबाट हुने वातावरणीय प्रदूषण न्यून गर्नु हो ।

नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०६९ भन्नाले के बुझिन्छ ?

नेपालमा आयात हुने ट्रयाक्टर, पावर टिलर, डोजर, डम्पर, क्रेन, लोडर, स्क्याभेटर, दमकल वाहेकका सवारी/ढुवानी साधनको लागि अधिकतम कार्वन मोनोअक्साइड, हाइड्रोकार्वन, नाइट्रोजन अक्साइड जस्ता वातावरणीय असर पर्ने तत्वहरुको मापन नेपाल सरकारको सम्बन्धित निकायबाट निश्चित गरिएको छ । यसैलाई नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ भनिएको हो । मुलुकमा पैठारी हुने नयाँ सवारी/ढुवानी साधन नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ बमोजिम हुनुपर्दछ । यसैले आयातको समयमा नै टि.ए. र सि.ओ.पी. को प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने हुन्छ ।

Buy Back Agreement भनेको के हो ?

कुनै एक मुलुकको आयातकर्ताले अर्को मुलुकको निर्यातकर्तालाई आफूले चाहेको वस्तुको उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ विना मूल्यमा पठाई उक्त मालवस्तु तयार गर्दा लाग्ने खर्च र मुनाफा मात्र भूक्तानी गर्ने र उत्पादन आफैले आयात गर्ने गरी आयातकर्ता र निर्यातकर्ता वीच गरिएको संझौता हो ।

नेपालमा यस प्रकारको व्यवस्था कुन कुन उद्योगमा छ ?

यस प्रकारको संझौता नेपालमा तयारी पोशाक उद्योगले गर्ने गरेको छ । यस संझौता अन्तर्गत नेपालको तयारी पोशाक उद्योगले तयारी पोशाक बनाउनको निम्ति आवश्यक पर्ने कच्चा पदार्थ प्रतीतपत्र विना नै पैठारी गर्न पाउँछ तर त्यस्तो कच्चा पदार्थ आयात गर्दा वाणिज्य तथा आपूर्र्ति व्यवस्थापन विभागबाट भने इजाजत लिनु पर्दछ ।

सि.एम.टी.पी. (CMTP) भन्नाले के बुझिन्छ ?

यसको पूर्ण रुप Cutting, Manufacturing, Trimming and Processing हो । यसमा तयारी पोशाकको लागि आवश्यक कच्चा पदार्थ आयातकर्ताले उपलब्ध गराउँदछ र उद्यमीलाई Cutting, Manufacturing, Trimming and Processing को अंश दिन्छ । यसमा उद्यमीले कच्चा पदार्थको लागि आफ्नो पूँजी लगाउन आवश्यक पर्दैन । यस पद्धतिले निर्यातमूलक तयारी पोशाक उद्योगको विकास र तयारी पोशाकको निर्यातमा अभिवृद्धि गर्न सघाउँदछ ।

सि.एम.टी.पी. अन्तर्गत तयारी पोशाकको कच्चा पदार्थ आयात र तयारी पोशाक निर्यात गर्दा के कस्ता प्रक्रिया एवं शर्तहरु पूरा हुनु पर्दछ ?

तयारी पोशाकको आयात कर्ताले नै कपडा पठाउने हुँदा कपडाको लागि विदेशी मुद्राको आवश्यकता परेन जसले गर्दा प्रतीतपत्र खोल्नु पनि परेन तर वाणिज्य तथा आपूर्र्ति व्यवस्थापन विभागबाट भने इजाजत लिनु पर्दछ । यसरी पैठारी भएको कच्चा पदार्थबाट तयारी पोशाक बनाई निकासी गर्दा वाणिज्य तथा आपूर्र्ति व्यवस्थापन विभागले तोकेको मूल्य अभिवृद्धि भएको हुनु पर्दछ । मूल्य अभिवृद्धि भएको रकमको प्रतीतपत्र वा अग्रिम भूक्तानी प्राप्त भएपछि तयारी पोशाक निकासी गर्न पाइन्छ । यस प्रयोजनको लागि कच्चा पदार्थ पैठारी गर्दा भन्सार कार्यालयमा लाग्ने महसुल नेपाली आयातकर्ताले वण्डेड वेयर हाउसको सुविधा अन्तर्गत बैंक ग्यारेण्टीमा पैठारी गर्न पाउँछ र निकासी भएपछि त्यस्तो बैंक ग्यारेण्टी फुकुवा गरिन्छ ।

 मालवस्तुको भन्सार मूल्यका सम्बन्धमा देहायका शब्दावली (Terminologies) हरुको के अर्थ हुन्छ ? 
१. एफ.ओ. बी.
२. सी.आइ.एफ.
३. सी.आई.पी.
४. सी. एण्ड एफ.

१. एफ.ओ.वी. को पूर्ण रुप Free on Board हो । यसको अर्थ मालवस्तु निकासी गर्ने देशको सीमासम्मको मूल्य भन्ने वुझिन्छ । यसमा भाडा, वीमा समावेश हुँदैन । यो प्रायः निकासी गरिने मालवस्तुमा प्रयोग हुन्छ ।

२. सी.आई.एफ. : यसको पूर्ण रुप Cost, Insurance and Freight हो । यसमा मालवस्तुको मूल्य, भाडा तथा वीमा समेत जोडिएको हुन्छ । यो शव्दावली प्राय पैठारी गरिने मालवस्तुमा प्रयोग गरिन्छ ।

३. सी.आइृ.पी. : यसको पूर्ण रुप Carriage and Insurance Paid हो । यसमा पनि मालवस्तुको मूल्य, भाडा तथा वीमा समावेश हुन्छ र यो शव्दावली पनि पैठारीमा प्रयोग हुन्छ ।

४. सी.एण्ड एफ. : यसको पूर्ण रुप Cost and freight हो । यसमा मालवस्तुको मूल्य र भाडा समावेश हुन्छ तर वीमा समावेश हुँदैन । यो शव्दावली पनि पैठारी हुने मालवस्तुमा प्रयुक्त हुन्छ ।

संक्षिप्त प्रज्ञापनपत्र भनेको के हो ? कस्तो मालवस्तुको लागि यो प्रज्ञापनपत्र भर्नु पर्दछ ?

कुनै व्यक्तिले आफ्नो निजी प्रयोगका मालवस्तु पैठारी गर्दा वा कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारी आदेश अन्तरगत ल्याउन पाउने मालवस्तु पैठारी गर्दा भन्सार कार्यालयमा भरी पेश गर्नुपर्ने फारामलाई संक्षिप्त प्रज्ञापनपत्र भनिन्छ । यस प्रज्ञापनपत्रबाट निजी प्रयोगका रु. ५००० सम्म मूल्य भएका मालवस्तु वा गुण्टा झिटी भारी सम्बन्धी सूचनामा समदरमा महसुल तिरी ल्याउन पाउने भनी उल्लेख भएका मालवस्तुहरु मात्र पैठारी गर्न सकिन्छ ।

स्रोत : भन्सार बिभाग

प्रकाशित मितिः     ३ पुष २०७५, मंगलवार ०८:०१  |