बाँके : नेपालगन्जको एभरेष्ट अर्गानिक एग्रो फार्मले उत्पादन गरेको सस् लोकपृय बन्दै गरेको छ । एभरेष्टले उत्पादन गरेको टमाटर सस्ले नेपालगन्जको बजारमा खपत भइरहेको छ । होटल, रेष्टुरेण्ट मात्र नभई व्यक्तिगतरुपमा समेत टमाटर सस् खरिद गर्नेको कमी छैन । टमाटर सस्ले सेवाग्राहीको मन जितेपछि फार्मले थप स्वादका सस् उत्पादनको तयारी गरिरहेको एभरेष्ट अर्गानिक एग्रो फार्मका सन्चालक बीरबहादुर हमालले जानकारी दिए । उनले भने,–‘हामी उत्साहित छौं । अब चिल्ली, सोया, भेगरको स्वादमा सस् उत्पादनको तयारी गरिरहेका छौं ।’
बिभिन्न सामाजिक काममा समेत सक्रिय हमालले साना तथा मझौला आयस्तर बृद्धि आयोजनाको परिपुरक अनुदान सहयोगमा झण्डै ७५ लाख लगानीमा उक्त फर्म संचालनमा ल्याएका हुन । सस्को स्थानीय माग पुरा गर्न सन्चालनमा ल्याईएको फर्मले अहिले दैनिक ६ सय केजिसम्म सस् उत्पादन गर्ने क्षमता राख्छ । चार महिनामा उत्पादन भएको सस् खपत हुन भने बर्षभर लाग्ने गरेको छ ।
उक्त उद्योगबाट आठ जनाले रोजगारी पाएका छन् । कृषकहरु समेत लाभ उठाएका छन् । एभरेष्ट एग्रो फार्मले पहाडी जिल्लामा आईपिएम पद्धतीबाट उत्पादन गरेको गोलभेडा संकलन गरेर प्रशोधन गर्दै आएको छ । यो अर्गानिक हुने गरेको फार्मले जानकारी दिएको
छ । उद्योगले सस् प्याकेजिगंको काम समेत गर्दै आएको छ । हाल टमाटर सहजै उपलब्ध भए पनि पछि भने अभाव हुने डर हमाललाई छ । त्यसकारण कृषि उत्पादनमा सबैले जोड दिनुपर्ने उनको सुझाव छ । धेरै युवाहरु बिदेश गएका बेला हमालले स्वदेशमै केही गरेर उद्यमी बन्न सकिन्छ भन्ने उदाहरण दिएका छन् ।