बिद्युतदेखि विकाससम्मका समस्या समाधान गर्न सफल भयौं : नन्दलाल बैश्य


नन्दलाल बैश्यले नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेको दुई वर्ष पुरा भएको छ । २०६३ सालमा संघको कार्यसमिति निर्वाचित र त्यसपछि उपाध्यक्ष हुँदै अध्यक्ष निर्वाचित भएपछिका यि दुई वर्ष बैश्यका लागि महत्वपूर्ण रहे । आफ्नै कार्यकालमा संघको स्वर्ण वर्ष मनाउने अवसर पाउने अध्यक्ष पनि बैश्य नै बने । गत वर्ष भब्यतापूर्वक संघले स्वर्ण वर्ष पनि मनायो । दुई वर्षको समिक्षा गर्दा ठिकै भएको प्रतिक्रिया दिए बैश्यले । सम्पूर्ण उद्योगी, व्यवसायी साथीहरुको साथ पाएर सोंचेका अधिकांस काम पुरा गरेको उनी बताउँछन् । प्रस्तुत छ, बैश्यसंग उनको दुई वर्षे कार्यकालको समिक्षा सहितको कुराकानी ।


नन्दलाल बैश्य, अध्यक्ष, नेपालगन्ज उद्योग वाणिज्य संघ ।

दुई वर्षको समिक्षा कसरी गर्नुहुन्छ ?

-म नेतृत्वको नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यकाल दुई वर्ष भएको छ । यस अवधीमा हामीले गरेका सम्पूर्ण कामकोे मुल्यांकन सम्पूर्ण उद्योगी, व्यवसायीहरुले गर्नुभएकै होला । उहाँहरुकै साथ र सहयोगबाट दुई वर्षको मेरो कार्यकाल सफल भएको मानेको छु । यो समयमा निकै राम्रा कामहरु भएका छन् । कतिपय काम गर्न नसकिएको पनि होला । ती काम आगामी दिनमा गर्ने तयारी पनि भएको छ । हामी दुई वर्षको कामबाट उत्साहित नै छौं ।

यहाँको कार्यकालमा भएको महत्वपूर्ण कामहरु के के हुन ?

-बिद्युतको समस्या समाधान गर्नु मेरो लागि निकै चुनातीपूर्ण कुरा थियो । संघको आन्तरिक चुनावका बेला पनि व्यवसायी साथीहरुले बिद्युतको समस्या समाधान गर्नुपर्ने कुरा उठाउनुभएको थियो । नेपालगन्जमा दैनिक १६ घण्टासम्म बिद्युत जाने र लो भोल्टेजले हैरान
गथ्र्यो । उद्योग व्यवसाय ठप्पप्राय थियो । बिद्युत समस्या हटाउनु मेरो प्रमुख दायित्व थियो । निर्वाचित भए लगत्तै हामीहरु काठमाण्डौं गयौं । उर्जामन्त्रीसंग निकै लामो समयसम्म छलफल र बहस भएपछि नेपालगन्जको बिद्युत समस्या समाधान भयो । यो अति सन्तोष गर्ने काम भएको छ । यस्तै कोहलपुर गनापुरक्षेत्रमा रहेका उद्योगमा अलग्गै फिडर थिएन । त्यसको समेत व्यवस्था गर्न सफल भयौं । अहिले त्यहाँ उद्योगीहरुले राहात महसुस गर्नुभएको छ ।

बिद्युतको समस्या समाधानसंगै रोजगारी सिर्जना गर्ने बिषयमा पनि संघले केही गरेको थियो ?

-यही वर्षको अवधीमा हामीले रोजगार मेला लगाउन सक्यौं । यहाँका जम्मै उद्योगहरुले भारतीय कामदार ल्याउथे । यहाँका युवाहरुले रोजगारी नै नपाउने अवस्था थियो । त्यस्तो अवस्था अन्त्य गर्नका लागि हामीले यही रोजगार मेला आयोजना गरेका थियौं । ३ सय ५० युवा युवतीहरुले तत्कालै रोजगारी पाउनुभएको थियो । यस बाहेक हामीले नेपागन्जमा रहेका भारतीय व्यवसायीहरुका लागि भारतीय दुुतावासको आईडी कार्ड दिने व्यवस्था मिलायौं । यो नहुँदा यहाँ रहेका भारतीय व्यवसायीहरुले पैसा राख्न सिमापारी जानुपथ्र्यो । तर अब आईडी भएपछि व्यवसायीहरुले नेपाली बैंककै रकम जम्मा गर्न सक्ने हुनुभएको छ ।

उद्योग वाणिज्य संघको सपनाको योजनाको रुपमा बहुउदेश्य सभाहल छ । यो योजना कहाँ पुग्यो ?

-यो हाम्रो सपनाको योजना नै हो । यो निर्माणका लागि मेरो कार्यकालमा पनि धेरै ठुलो पहल भएको छ । अबको केही महिनामा त्यहाँ पर्खाल लगाउन सुरु हुन्छ । रकम हामीले छुट्याएका छौं । यस बाहेक मेरो दुई वर्षे कार्यकालमा उद्यमशिलता तालिम प्रदान गरेका थियौं । जसका कारण आज घरेलु उद्योगको संख्या बढेको पनि छ । हामीले महोत्सव आयोजना गरेर ठुलो रकम संघको खातामा जम्मा गरेका छौं । भन्सारबाट हुने चोरी निकासी रोक्न दबाब दियौं । नेपालगन्ज उपमहानगरपालिलाई दश वर्ष अघिको करका बिषयमा छुट दिन दबाब दियौं । सफा नेपालगन्ज निर्माणका बिषयमा अगुवाई नै गरेका छौं । यसका साथै नेपालगन्ज दिल्ली उडानका लागि पहल गरेका छौं । नेपालगन्जको पुरानो बजार सदरलाईन बर्षौदेखि बिस्तार हुन सकिरहेको थिएन । हाम्रै पहलमा बिस्तार भयो । मुद्दा नै झेल्ने अवस्था आएपनि हामीले विकासका कुरामा सहयोग गरेका थियौं । शान्ती, सद्भाव, सामाजिक आन्दोलनमा हामीले अग्रणी भुमिका निभायौं ।

आगामी एक वर्षका योजनाहरु के के छन् ?

-बहुउदेश्य सभागृह निर्माणको काममा बिशेष ध्यान दिन्छु । यसका साथै कारकारदोचोकमा घण्टाघर, त्रिभुवनचोक निर्माणको कामलाई उच्च प्राथमिकतामा राख्नेछु । संघको भवनको पछाडी थप जग्गा खरिद गर्ने र त्यसमा पार्किगको व्यवस्था गर्नेकी भन्ने सोंचाई पनि आएको छ ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

-दुई वर्षको अवधीमा सम्पूर्ण साथीहरुले राम्रै सहयोग गर्नुभयो । कसैले असहयोग गरेको मैले महसुस गरिन । मेरो तर्फबाट पनि उद्योगी, व्यवसायीहरुको सवालमा कहिल्यै नाई नास्ती भएन जस्तो लाग्छ । आगामी दिनमा पनि यस्तो कार्य जारी रहनेछ भन्ने बिश्वास दिलाउँछु ।

प्रकाशित मितिः     ७ पुष २०७५, शनिबार ०९:४३  |