नेपालगन्जमा ‘टुप्पी’ दुधले डेरी उद्योगलाई मार


प्याकेजिङ्ग दुध (हातमा ), टुप्पी दुध (तल टेबलमा) देखाउँदै अनुप डेरीका सुनिल शाह ।

बाँके : नेपालगन्ज उपमहानगरपालिका भित्र प्याकेजिङ्ग नगरिएका दुध जथाभावीरुपमा बिक्री भइरहेको भन्दै डेरी सन्चालकहरुले आपत्ती जनाएका छन् । त्यस्ता दुधले एकातिर सर्बसाधारणको स्वास्थ्यमा असर पारिरहेका छन भने बैधानिकरुपमा प्याकेजिङ्ग गरेर बिक्री भइरहेका डेरी उद्योगलाई धरासायी बनाउने काम भइरहेको नेपालगन्जको चर्चित डेरी अनुपका सन्चालक सुनिल शाहले बताए ।
शाहका अनुसार अहिले बजारमा दुध उत्पादकले प्लाष्टिक भरेर कुनै लेबलिङ्ग नगरीकनै दुध बिक्री गरिरहेका छन् । त्यस्ता दुधको गुणस्तर परिक्षण हुँदैन भने दुध राखिएको प्लास्टिकमा मुल्य, उत्पादन मिति पनि हुँदैन । दुध भरिसकेपछि रबरले बाध्ने र प्लाष्टिक माथिल्लो भाग टुप्पी जस्तो देखिने भएकाले यसलाई टुप्पी दुध समेत भनेर व्यवसायीहरुले ठट्टा गर्ने गरेका छन् ।  ‘दैनिक ठुलो मात्रामा नेपालगन्जमा टुप्पी दुध बिक्री भइरहेको छ । यसले जसले सम्पुर्ण मापदण्ड पुरा गरेर डेरी सन्चालन गरिरहेको छ, उसलाई मार परेको छ भने अर्को तर्फ सर्बसाधरणको स्वास्थ्यमा गम्भीर असर पर्छ ।’— शाहले भने । खुल्लारुपमा बिक्री भइरहेको दुध स्वास्थ्य छ भनेर कसैले ग्यारेण्टी दिन नसक्ने उनले बताए । त्यस्ता दुध उत्पादक व्यवसायीहरुलाई व्यवस्थितरुपमा काम गर्न पनि उनले आग्रह गरे ।
धम्बोझी मदर डेरीका सन्चालक प्रभात ठकुरीले अव्यवस्थित तरिकाले सन्चालनमा आएका दुधलाई सरोकारावाला निकायले नियमन गर्न नसकेको बताए । सरोकारावाला निकायलाई पटक पटक भन्दा पनि कुनै चासो नदिएको देवकोटाले बताए । पछिल्लो समय सरकारले ल्याएको दुध बिक्री सम्बन्धी नयाँ व्यवस्थाले त्यसलाई नियमन गर्नेमा व्यवसायीहरुले बिश्वस्त छन् ।

मदर डेरीका सन्चालक प्रभात ठकुरी

 

प्रकाशित मितिः     १२ पुष २०७५, बिहीबार ११:१५  |