बाँके : नयाँ श्रम ऐन अनुसार हरेक उद्योगले अबदेखि श्रम अडिट गर्नुपर्छ । त्यस्तो श्रम अटिड श्रम तथा व्यवसायजन्य सुरक्षा बिभाग वा सम्बन्धित श्रम तथा रोजगार कार्यालयमा पुस मसान्तभित्र प्रतिबेदन पेश गर्नुपर्ने व्यवस्था भएपनि श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा कुनै प्रतिवेदन आएको छैन । उक्त कार्यालयले श्रम अडिट गरे नगरेको बिषयमा अनुगमन गर्ने तयारी गरेको छ ।
श्रम ऐन कार्यान्वयनको पहिलो वर्ष भएकाले त्यसका धेरै प्रावधान कार्यान्वयनमा उद्योगीहरु अन्यौलमा रहेका छन् । त्यस्तो अन्यौलता हटाउन श्रम अडिट गर्नका लागि उद्योगीहरुलाई पत्र लेख्ने तयारी भइरहेको श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख ईन्जिनियर हरिशंकर चौलागाईले जानकारी दिए । ऐनमै बिभाग वा कार्यालयमै अडिट सम्बन्धित प्रतिबेदन बुझाउने उल्लेख भएपनि त्यस्तो प्रतिबेदन कार्यालयमै बुझाउन नसकिने अवस्था आए श्रम कार्यालयको अनुगमनका क्रममा भने अनिवार्यरुपमा देखाउनुपर्ने छ ।
अनुगमनका क्रममा नदेखाएको र प्रतिबेदनमा झुठा बिबरण पेश गरे कारवाही गरिने व्यवस्था रहेको चौलागाईले बताए । श्रम कार्यालय नेपालगन्जले बाँके, बर्दिया, दांग र पुर्वी रुकुम हेर्दै आएको छ । त्यहाँ रहेका उद्योगीले पुस मसान्तभित्र अनिवार्यरुपमा श्रम अडिट गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । श्रम अटिड भित्र नयाँ श्रम ऐन अनुसार, रोजगारदाताले श्रमिकलाई दिने तलब अन्य सेवा सुविधा उल्लेख गर्नुपर्छ । श्रम अडिटले नयाँ श्रम ऐन कार्यान्वयन भए नभएको हेर्न सजिलो बनाउनेछ । यसलाई कडाईका साथ कार्यान्वयन गरेर लैजाने तयारीमा रहेको चौलागाईले बताए ।