बाँकेका सहकारीले दिन्छन् ई -सेवा मार्फत मेवाईल रिचार्जदेखि बैंक डिपोजिटसम्मका सेवा


बाँके :  बाँकेका सहकारीहरुले ई सेवा सुरु गर्ने क्रम बढेको छ । समुह सदस्यबाट पैसा जम्मा गर्ने र सदस्यहरुलाई ऋण लगानी गर्ने मात्र नभई अब सहकारीहरुले ई सेवाको सुविधा समेत दिन थालेका छन् । ग्रामिणक्षेत्रमा सन्जाल रहेका सहकारीले ई सेवा सुरु गरेपछि सर्बसाधारणले राहात महसुस गरेका छन् ।
यहाँका केही सहकारीहरुले मोवाईल रिचार्ज, इन्टरनेट बिल, बिजुली, टेलिफोन, सेट्अप बक्सको काम गर्दै आएका छन् । यस्तै सहकारीहरुले बस, हवाई टिकटदेखि बैंक डिपोजिट, स्कुल कलेज फि देखि होटल बुकिगंसम्मको काम गर्दै आएका छन् । यस्ता सेवा सुरु गर्ने बाँकेको खजुरास्थित बहुउदेश्यी सहकारी अग्रणी छ । उक्त सहकारीका सचिव प्रेम बुढाथोकीले ई सेवा सुरु गरेपछि शेयर सदस्य र सर्बसाधारणले राहात महसुस गरेको बताए । अब सहकारीबाटै रेमिट्यान्सको काम गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
४२ लाख शेयर पुँजी रहेको उक्त सहकारीमा ३ सय २५ जना सदस्य छन् । गत आर्थिक वर्षमा ५ करोडको कारोवार गरेको थियो । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले जिल्लामा रहेका सहकारीहरु ई सेवा सुरु गरिरहेको बताए । अझै धेरै सहकारीहरुले इ सेवा सुरु गर्ने तयारीमा रहेको पनि उनले बताए ।

प्रकाशित मितिः     १३ पुष २०७५, शुक्रबार १६:३१  |