यसरी चलेको छ, मुनब्बर बिनाको ‘मुनब्बर ड्राईभिङ्ग सेन्टर’


बाँके :  मुनब्बर अलि हल्वाई, ड्राईभिङ्ग सेन्टर सन्चालनका क्षेत्रमा चिरपरिचित नाम थियो । उनले सन्चालन गरेको मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ्ग सेन्टरमा सवारीसाधन सिक्न आउनको घुँइचो नै लाग्थ्यो । सवारी प्रशिक्षण केन्द्र सन्चालनका क्षेत्रमा मुनब्बरको नाम ब्राण्ड जस्तै बनिसकेको थियो । उनका सामु अरु फिक्का सावित हुन्थ्ये ।
यतिले मात्र पुग्दैन मुनब्बरको परिचय । उनको नाम आउने बित्तिकै नेपालगन्जमा एउटा यस्तो पात्रको सम्झना आउँछ जो हरेक निर्वाचनमा उम्मेदवारी बन्ने गरेका थिए र एक्लै भएपनि निर्वाचनको प्रचार प्रसारमा  जुट्थे । खुट्टामा समस्या भएपनि उनी आफै गाडी हाँकेर मतदातासंग मत माग्न गएका दृष्यहरु अहिले धेरैका आँखा वरीपरी घुमिरहन्छन् । जित हार वा राजनीतिमा उनको उपस्थिती र अनुपस्थितीले फरक नपारे पनि हरेक चुनावमा उनी चर्चाको बिषय भने रहिरहन्थे ।
यिनै मुनब्बरको गत वर्ष माघमा भारतको लखनउ जाने क्रममाआफैले चलाएको कार दुर्घटना हुँदा निधन भयो । उक्त दुर्घटनामा उनका कान्छो छोरा र साथीको पनि मृत्यु भएको थियो । उनको निधन संगै ड्राईभिङ्ग सेन्टर सन्चालनका अगुवा र यहाँको राजनीतिमा उम्मेदवार बनिराख्ने पात्र सम्झनामा सिमित भए । उनको निधन भएको एक वर्ष पुग्दै छ । मुनब्बरको निधन पछि कुनै बेलाको यस क्षेत्रमै चर्चित बनेको मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ्ग सेन्टरको अवस्था कस्तो छ भन्ने जिज्ञासा जाग्यो । एक जना छोरा समेतको निधन भइसकेको अवस्थामा उक्त प्रशिक्षण केन्द्र कस्ले चलाएको छ त ? कतै बन्द पो भयो की जान्न मन थियो । त्यही जान्नका लागि हामी प्रहरी तालिम केन्द्र कारकांदो अगाडी रहेको मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ्गमा पुग्यौं ।
मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ्ग सेन्टरमा पुग्दा जेठी बुहारी भेटिईन । कुर्सीमा बसेर उनी कम्प्युटरमा केही काम गर्दै थिईन । केही बेरमा जेठो छोरा एहसान अहमद हल्वाई आए । जो अहिले मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ्ग सेन्टर सन्चालन गरिरहेका छन् । श्रीमती र आफु मिलेर बुवाले २०५३ सालबाट सुरु गरेको मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ्ग सेन्टर चलाइरहेको उनले बताए । ‘बुवा र भाईको निधन पछि सबैले माया गरेको यो प्रशिक्षण केन्द्र सन्चालन गर्ने जिम्मेवारी आईलाग्यो ।’— एहसानले भने । बुवाले काम गर्दा उनी आफ्नै गाडी चलाउने काम गर्थे । प्रशिक्षण केन्द्र सन्चालनको अनुभव थिएन । तर अहिले उनी सिक्दैछन् । ‘नसिकेर पनि भएन । रोजीरोटीदेखि ऋण तिर्नेसम्मको कुरा छ ।’— एहसानले भने ।

मुनव्वरका छोरा ऐहसान ।

बुवा मुनब्बरको निधन पछि घरको अभिभावक बनेका एहसानले एक वर्षको अवधीमा धेरै दुःख झेले । दुःखले अझै छाडेको छैन । बुवा र भाई गुमाएको पिडा त थियो नै त्यस माथि थपियो ऋणको बोझ । बुवाको निधनसंगे घरमा साँझ र बिहान तपाईको बुवाले मबाट यति पैसा लिनुभएको छ भन्दै आउनेको कमी थिएन । यस्तो भन्नेहरुकै ऋण ७० लाखसम्म पुग्यो रे । ‘दिनु छ भनेर कोही आएनन् । लिनु छ भन्नेहरुको कमी भएन । अहिले पनि आइरहन्छन् ।’— ऐहसानले भने । जेनतेन गरेर ऋण तिरिरहेको उनले बताए । बुवाको निधन पछि उनका तीनवटा गाडी दुर्घटना भएर क्षती भयो । अरुसंग मिलेर किनेका तीनवटा गाडीको कुनै हिसावकिताव भएन । हुँदा हुँदा काँरकादो लग्दहवास्थित घर समेत लिलाम हुँदै छ । बैंकले लिलामका लागि प्रक्रिय सुरु गरेपछि दश जना परिवारको दुःख अझ बल्झिएको छ । ‘बुवा र भाई पछि मैले थेरैथोक गुमाएको छु ।

       अहिले बास पनि गुमाउँदै छु । दुःख छ तर हार मानेको छैन ।’—आत्मबिश्वासी हुँदै ऐहसानले भने । घरजग्गा बिक्री गरेर बैंकको ऋण तिर्ने र बाँकी पैसाले गाडीको व्यवस्था गरेर बुवाले बर्षौदेखि सन्चालन गर्दै आएको मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ्ग थप अगाडी बढाउने सोंचमा छन् ऐहसान । घर बिक्री गर्न चाहिरहेका छन् उनी । बुवाकै नाम सुनेर अहिले पनि टाडा टाडाबाट सवारीसाधन सिक्न आइरहेको उनले बताए ।‘बुवाको नाम लिदै अहिले पनि धेरै मान्छे आउनुहुन्छ । यो देख्दा खुसी लाग्छ । जस्तोसुकै दुःख भएपनि यसैलाई अगाडी बढाउनुपर्ला ।’— ऐहसानले भने ।

प्रकाशित मितिः     १४ पुष २०७५, शनिबार ११:४१  |