श्रम ऐन कार्यान्वयनको बेला श्रम कार्यालय नेपालगन्जमा कर्मचारी छैनन्


बाँके : श्रम ऐन कार्यान्वयनको चापाचाप हुने बेला श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा कर्मचारी नै छैनन् । कर्मचारी नै नभएपछि बाँके, बर्दिया, दागं र पूर्वी रुकुममा नयाँ श्रम ऐन लागु भएको छ वा छैन भन्ने बिषयमा नियमन र अनुगमन गर्न सकिएको छैन ।
आठ जना दरबन्दी रहेको श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा अहिले कारखाना निरिक्षक ईन्जिनियर हरिशंकर चौलागाई र एक जना कार्यालय सहयोगी मात्र कार्यरत छन् । अरु जम्मै दरबन्दी खाली छ । एक जना कारखाना निरिक्षकले पनि हालै मात्र सुर्खेतमा खुलेको स्वास्थ्य तथा सुरक्षा सम्बन्धि काम हेर्न महिनामा पटक पटक जानै पर्छ । एउटै व्यक्ति कहिले कता त कहिले कता जानुपर्ने अवस्था आएपछि सोंचेजस्तो गरी काम गर्न नसकिएको कारखाना निरिक्षक चौलागाईले बताए ।
‘दरबन्दी छैन भनेर कामै रोकिएको त छैन । जसरी भए पनि काम गरेका छौं । तर जुन तरिकाले काम गर्नुपर्ने हो त्यसरी हुन सकेको
छैन ।’— कारखाना निरिक्षक चौलागाईले भने,‘ यहाँको अवस्थाका बारेमा केन्द्रमा कुरा राखेको छु ।’ नयाँ श्रम ऐन आएपछि त्यसको बारेमा सरोकारवाला निकायलाई जानकारी गराउनुपर्नेदेखि कार्यालयमा आउने उजुरीका बिषयमा छानबिन गरी आवश्यक कारवाही गर्न एक्लो कर्मचारीलाई निकै सकस भएको छ ।
नयाँ श्रम ऐनका बिषयमा उद्योगी,व्यवसायीदेखि कामदारहरुसम्मलाई जानकारी छैन । त्यस बारेमा जानकारी नहुँदा श्रम ऐन पुर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । यस्तो कामको चाप बढेका बेला झन् कर्मचारी नहुँदा समस्या भइरहेको छ ।

प्रकाशित मितिः     १६ पुष २०७५, सोमबार १४:०९  |