कुनै मालवस्तु चोरी निकासी/पैठारी गर्न लागेको/गरेको कुराको सुराक दिनेलाई पुरस्कारको के व्यवस्था छ ?
-त्यस्तो प्रकारको कुरा प्रमाणित हुन आएमा र तत्सम्बन्धी मुद्दाको अन्तिम किनारा लागेपछि त्यस्तो मालवस्तुको लिलाम विक्री गरी प्राप्त हुन आएको रकमबाट सुराकीले पाउने पुरस्कारको व्यवस्था गरिएको छ ।
चोरी निकासी/पैठारीको सुराक दिनेलाई के कति रकम पुरस्कार दिइन्छ ?
१) चोरी निकासी/पैठारीको सुराकी दिनेलाई दश प्रतिशत
२) त्यस्तो मालवस्तु मानिस सहित पक्री पेश गरेकोमा बिस प्रतिशत
३) मालवस्तु मात्र पक्री पेश गरेकोमा दश प्रतिशत
४) त्यस्तो मालवस्तु सुन, चाँदी वा जवाहरात भएमा पक्री पेश गर्ने व्यक्तिलाई दश प्रतिशत वा ५ लाख रुपैया मध्ये जुन घटी हुन्छ सो रकम दिईनेछ | त्यसरि पुरस्कार दिदा प्रति व्यक्ति ५० हजार भन्दा बढी हुने छैन |
चोरी निकासी/पैठारीको सूचना दिने व्यक्तिको सम्बन्धमा के कस्तो गोपनीयता छ ?
-त्यस्तो सुराकी दिने व्यक्तिको नाम, थर र विवरण गोप्य राख्नु पर्ने व्यवस्था छ । तर अनुसन्धानको सिलसिलामा अनुसन्धान गर्ने निकाय वा अदालतबाट माग भएकोमा वाहेक कुनै व्यक्ति वा निकायलाई उपलब्ध नगराइने व्यवस्था गरिएको छ ।
अनुसन्धानको कारण वा अदालतबाट गरिने तहकीकातको सिलसिलामा त्यस्तो सुराकी उपस्थित हुनु पर्छ त ?
-सुराकी दिएको कारणले मात्र त्यस्तो सुराकीलाई कुनै अदालत, निकाय वा कार्यालयमा उपस्थित हुन वाध्य गरिएको छैन ।
भन्सारले जफत गरेका मालवस्तु कुनै निकायले प्रयोग/उपभोग गरेको परिस्थितिमा पुरस्कार रकम पाइन्छ/ पाइदैन?
-पाउने व्यवस्था गरिएको छ ।
भन्सारले जफत गरेका मालवस्तु कुनै निकायले प्रयोग/उपभोग गरेको परिस्थितिमा सुराकी वा पुरस्कारको रकमको व्यवस्था कसरी गरिन्छ ?
-मालवस्तु प्रयोग गर्ने निकायले भन्सार कार्यालयलाई त्यस्तो रकम उपलब्ध गराउँछ र रकम प्राप्त भएपछि सुराकी र पक्राउ गर्ने व्यक्तिलाई पुरस्कार दिइन्छ ।
सुराकी वा पक्राउ गरेवापतको पुरस्कारको रकम लिन के कस्तो कागजातको आवश्यकता पर्दछ ?
-कर्मचारीको हकमा भुक्तानी भरपाईका साथमा परिचय पत्रको प्रतिलीपी र अन्यको हकमा भरपाईका साथमा परिचय खुल्ने प्रमाणको प्रतिलीपी अनिवार्य रुपमा राख्नु पर्ने हुन्छ ।
पुरस्कार पाउने व्यक्ति एक भन्दा बढी भएमा कसरी रकम दिइन्छ ?
-यस्तो स्थितिमा दामासाहीले रकम वितरण गरिन्छ ।
लिलामी मूल्य भनेको के हो ?
-तोकिएको समितिबाट कायम गरिएको मूल्य हो जसमा प्रचलित कानून वमोजिम लिलाम गर्दा असुल गरिने मूल्य अभिवृध्दि कर समावेश गरिएको हुँदैन ।
सुराकीले कसरी सूचना दिन सक्दछ ?
१) मौखिक २) लिखित
सुराकीले सूचना दिने प्रक्रिया के हो ?
१) त्यस्तो सूचना वा प्रतिवेदन मालवस्तु पक्राउ पर्नु अगावै दिएको हुनु पर्दछ ।
२) त्यस्तो सूचना वा प्रतिवेदन भन्सार विभागका महानिर्देशक वा सम्बन्धित भन्सार कार्यालयको प्रमुखलाई दिनु पर्दछ ।
मालवस्तु पक्राउ पर्नु अगावै एउटै विषयमा दुई वा दुई भन्दा बढी सुराकी प्रतिवेदन वा सूचना प्राप्त भएको परिस्थितिमा के प्रक्रिया छ ?
-प्रथम प्राप्त प्रतिवेदन वा सूचनालाई मान्यता दिईन्छ । त्यसपछि प्राप्त प्रतिवेदन वा सूचनालाई कैफियत जनाई राखिन्छ ।
सुराकी दिने व्यक्तिले आफ्नो नाम नदिई कुनै काल्पनिक नामबाट पनि सुराकी दिन मिल्छ ?
-मिल्दछ । तर त्यस्तो सुराकीले आफूलाई स्पष्ट पहिचान हुने प्रमाणहरु (नागरिकता, परिचयपत्र, राहदानी, चालक अनुमतिपत्र) को प्रतिलीपी तुरुन्तै सम्बन्धित पदाधिकारीलाई उपलब्ध गराउनु पर्दछ ।
कसैले तोकिएको बाटो वाहेक अन्यत्रबाट मालवस्तु निकासी/पैठारी गर्न लागेमा के कस्तो कारवाही हुन्छ ?
१) भन्सार अधिकृत वा निजबाट अधिकार प्राप्त भन्सार कार्यालयको कर्मचारी वा अधिकार प्राप्त सरकारी कर्मचारीले रोक्न सक्ने ।
२) यसरी रोक्न खोज्दा हुलहुज्जत वा जोरजुलुम गरेमा सम्झाउने बुझाउने ।
३) सम्झाई बुझाई गर्दा पनि हुलहुज्जत वा जोरजुलुम गरेमा पक्राउ गर्ने।
४) जोरजुलुम गरी भाग्न खोजेमा र तत्काल पक्राउ गर्न नसकिने अवस्था भएमा आफ्नो रक्षा र कर्तव्य पालनाको निम्ति त्यस्तो घटना रोक्न पहिले हवाई फायर
र त्यस्तो गर्दा पनि स्थिति नियन्त्रण नभए कम क्षति हुने गरी त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीलाई सम्बन्धित पदाधिकारीले गोली चलाउने आदेश दिन सक्ने ।
तोकिएको बाटो गरी सवारी साधनबाट आवतजावत गर्ने कुनै व्यक्तिलाई भन्सार कार्यालयको कर्मचारीले रोक्न आदेश दिएकोमा नमानी भागेमा के हुन्छ ?
-त्यस्तो सवारी साधन नजँचाई भगाउने प्रयत्न गरेमा वा भगाएमा भन्सार अधिकृतको आदेशले कम क्षति हुने गरी भन्सारमा सुरक्षार्थ खटिएका कर्मचारीलाई त्यो सवारी साधनको पांग्रामा गोली चलाउने आदेश दिन सक्ने व्यवस्था छ ।
सुराकी दिंदा के कुरा खुलाउनु पर्दछ ?
क) हवाई जहाजको हकमा
१) हवाई उडान नं र समय
२) चोरी निकासी/पैठारी गर्ने व्यक्तिको सम्भव भएसम्म नाम र निजको हुलिया र मालवस्तु लुकाई छिपाई ल्याउने तरिका
३) हवाई जहाज भित्र लुकाई छिपाई राखिएको स्थान
ख) कार्गोको हकमा
१) कार्गोको एयर वे बिल नं वा मालवस्तुको नाम, मालधनीको नाम
२) मालवस्तु लुकाई छिपाई ल्याएको तरिका
३) मालवस्तु रहेको स्थान
ग) स्थल मार्गको हकमा
१) ढुवानी साधन भए किसिम र नम्वर भएमा त्यस्तो नम्वर
२) मालवस्तुको नाम
३) कुनै मालवस्तु भित्र लुकाई छिपाई गरिएको भए त्यसको पहिचानको विवरण
४) चोरी निकासी/पैठारी हुन लागेको स्थान, मिति र समय ।
स्रोत : भन्सार बिभाग