बाँकेमा मौसमी तरकारी पर्याप्त, बेमौसमीलाई भारतकै भर


बाँके :  जिल्लाकै सबैभन्दा ठुलो तरकारी बजार रानीतलाउमा जाने उपभोक्ताले मौसमी तरकारीहरु स्थानीय उत्पादन नै पाउँछन् तर बेमौसमी तरकारी भने भारतकै भरपर्नुपर्छ । टमाटर, काउली, खुर्सानी, बन्दागोबी, फर्सी जस्ता मौसमी तरकारी स्थानीय कृषी उत्पादन नै
हुन । तर भिन्डी, कटहर, करेला जस्ता बेमासमी तरकारी भने भारतबाट व्यवसायीहरुले ल्याएर बिक्री गरिरहेका छन् ।
मौसमी तरकारीमा आत्मनिर्भर भएपनि बेमौसमी तरकारीमा भने भारतकै भरपर्नुपर्ने अवस्था रहेको कृषि उपज बजार सन्चालक समिति रानीतलाउका सदस्य मेराज कवाडियाले बताए । उनका अनुसार, काउली, फर्सी, बन्दागोबी जस्ता तरकारी भारतबाट नआए पनि केही फरक पर्दैन । यहाँ जति पनि उत्पादन हुन्छ । बाँके जिल्लामै प्रशस्त उत्पादन हुने गरेको उनले बताए । कहिले कम भएका बेला मात्र भारतबाट त्यस्ता तरकारी आउने गरेका छन् । तर बेमौसमी तरकारी स्थानीयस्तरमा उत्पादन नहुँदा त्यस्ता तरकारीमा भारतकै भर पर्नुपरेको कवाडियाले बताए । व्यवसायीहरुले रुपैडियाबाट बेमौसमी तरकारी ल्याउने गरेका छन् ।

मौसमी तरकारीको मुल्य अति कम छ । यहाँ कृषकहरुले अहिले व्यवसायीहरुलाई बन्दागोबी ५ रुपैयामा एक केजि बिक्री गर्नुपर्ने अवस्था छ । काउली २० रुपैयासम्म मुस्किल बिक्री हुन्छ । कति ठाउँमा त मुल्य नपाएका कारण कृषकहरुको उत्पादन खेर जाने अवस्थासम्म आएको छ । तर बेमौसमी तरकारीले भने मुल्य उच्च छ । अहिले करेला, भिन्डीको मुल्य प्रति केजि १ सय २० सम्म छ । कटहरको मुल्य ९० रुपैयासम्म छ । उपभोक्ताले यस्ता तरकारीहरु खोज्ने भएकाले ल्याउनुपरेको व्यवसायीहरुले बताएका छन् । स्थानीयस्तरमै यस्ता उत्पादन गर्ने हो भने कृषकहरुले राम्रो मुल्य पाउने कवाडियाले बताए ।

प्रकाशित मितिः     १५ पुष २०७५, आईतवार ११:२८  |