नेपालगन्ज नाका : आयात, निर्यातमा आकाश जमिनको अन्तर


कमल डाँगी

बाँके : आर्थिक वर्ष २०७४/७५ मा नेपालगन्ज नाका हुँदै नेपालमा रु ४४ अरव बराबरको बिभिन्न सामाग्री आयात भयो । सोही वर्ष यही नाका हुँदै भारत तर्फ भने पुग्न नपुग साढे दुई अरवको सामाग्री निर्यात गरियो । चालु आर्थिक वर्ष २०७५/२०७६ को कात्र्तिक मसान्तसम्मको आयात, निर्यातको अवस्था पनि गत वर्षको भन्दा भिन्न छैन ।
चालु आर्थिक वर्षको कात्र्तिक मसान्तसम्म नेपालगन्ज नाका हुँदै १८ अरव बराबरको सामाग्री भित्रिएको छ । यही अवधीमा ६१ करोडको मात्र निर्यात भएको छ । यि दुई वर्षको तथ्यांकले भारत नेपालबीच रहेको आयात निर्यातको आकाश जमिनको अन्तरलाई दर्शाउँछ । नेपालगन्ज भन्सार कार्यालय वरपर भारतबाट आउने गाडीहरुको लस्कर देखिदा नेपालबाट सामान लिएर भारततर्फ जाने खोज्नुपर्ने अवस्था छ । ‘ भारतबाट अरवको सामान आउँछ । हाम्रो तर्फबाट मुस्किलले करोडको सामान जान्छ ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भने,‘यस्तो तथ्यांक कुनै एक वर्ष आउँदैन । हरेक वर्ष यस्तै भइरहेको छ ।’ भारतबाट नेपालमा सामान आयात गर्न नौ हजार भन्दा बढिले प्रज्ञापन पत्र लिएका छन् । तर, नेपालबाट भारततर्फ सामान पठाउनका लागि केवल पाँच सयजतिले मात्र प्रज्ञापन पत्र लिएका छन् ।ज्ञापन पत्र लिएको आधारमा सामान आयात र निर्यातको अवस्था बुझ्न सकिने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तीराम निरौलाले बताए । उनले नेपालगन्ज नाका भएर एकदमै कम सामान भारत निर्यात हुने गरेको बताए । नेपालबाट जडीबुटी, खनिज र स्थानीयस्तरमा पाइने कच्चा पदार्थ भारत निर्यात हुने गरेको निरौलाले बताए । नेपालगन्ज नाकाबाट सस्तो मूल्यका सामान मात्र भारतमा भित्रिने गरेका छन् । जडीबुटी, खोटो, वनस्पति उत्पादन, नौनी, बटर, घ्यू, राँगाको मासु, तर्पिन तेल, पिना, अदुवा, सुठोलगायत मसालाजन्य वस्तु भारत जाने गरेको छ । यसैमा पनि भारततर्फ निकै झण्झट दिने काम हुने गरेको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहमद याकुव अन्सारीले बताए । नेपालबाट निर्यात हुने मध्ये प्रमुख बस्तु भनेकै जडिबुटी हो । तर भारतले लगाउने अनावश्यक करका कारण यसको निर्यात पनि हरेक वर्ष खस्कदै छ ।



जडिबुटी व्यवसायी संघका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने पनि जडिबुटीको निर्यात खस्किएको छ । आर्थिक वर्ष २०७२÷२०७३ मा नेपालगन्ज हुँदै ४६ लाख ३८ हजार २ सय १५ केजि ४५ थरी जडिबुटी निकासी भएको थियो । तर त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३÷०७४ मा घटेर ४० लाख ५० हजार ६ सय ७४ किलोग्राम जडिबुटी निर्यात भयो । आर्थिक वर्ष २०७४÷०७५ मा २७ लाख ५४ हजार २ सय किलोग्राम जडिबुटी निकासी भयो । ‘जडिबुटीको निर्यातको अवस्था खस्किएको देखिन्छ ।’ नेपाल जडिबुटी व्यवसायी संघका कार्यालय प्रमुख पुष्कर खरेलले भने ।
भारतबाट सस्तो शुल्कदेखि महँगा सामान भित्रिने गरेका छन् । भारतबाट मेसिनरी उपकरण, पार्टपुर्जा, हाइस्पिड डिजेल, पेट्रोल, सिमेन्ट क्लिंकर, सिमेन्ट, खाना पकाउने एलपी ग्यास, पत्थर (कोइला) कपर स्केपजस्ता सामग्री नेपाल आउने गरेको छ । पछिल्लो समय भारतबाट ठूलो परिमाणमा चामल, कनिका र दाल आउने गरेको नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । ०३५ अघि नेपालबाट चामल र कनिका भारत निर्यात हुने गरेको थियो । त्यसवेला धान, चामल निर्यात कम्पनी नेपालमा सञ्चालनमा थियो ।
नेपालगन्ज भन्सार कार्यालयबाट अहिले सबैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिने गरेको छ । पेट्रोलियम पदार्थ भित्रिएकै कारण सरकारले दिएको लक्ष्य पूरा गर्न सकेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । ‘पेट्रोलियम पदार्थ आयात भएन भने नेपालगन्ज भन्सारलाई राजस्व संकलनमा ठूलो धक्का पुग्छ, पेट्रोलियम पदार्थले लक्ष्य र्पुयाउन सहयोग गरेको छ,’ निरौलाले भने । नेपालगन्जका प्रतिष्ठित व्यवसायी चम्पालाल बोथराले स्वदेशमा उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्न सकेमात्र निर्यात बढ्न सक्ने बताउँछन् । प्लाई उद्योगको क्षेत्रमा ख्याती कमाएको शिखर प्लाईका सन्चालन रहेका बोथराले सरकारले प्रोत्साहन नीति ल्याउने हो भने करोडौको प्लाई भारत निर्यात गर्न सकिने अवस्था रहेको बताए ।
प्लाईका लागि आवश्यक पर्ने काठमै करोडौ रकम भारत गइरहेको छ । उक्त रकम रोक्नका लागि स्वदेशमा नीजि वनको नीतिलाई खुकुलो बनाउनुपर्ने उनको तर्क छ । ‘यो त एउटा उदाहरण मात्र हो । हामीले स्पष्ट नीति बनाएर जाने हो भने निर्यातको आयातको अन्तरलाई घटाउन सक्छौं । त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ । ’


प्रकाशित मितिः     २९ मंसिर २०७५, शनिबार १५:२०  |
error: Content is protected !!