बैंकको ऋणलाई ऋणपत्र बनाएर यसरी जुटाउन सकिन्छ पैसा


सुमन शर्मा,प्रमुख कार्यकारी अधिकृत , माछापुच्छ्रे बैंक

सुमन शर्मा / बिजमाण्डु : नेपालमा अब ऋणपत्र बजार (बण्ड मार्केट) आवश्यक भइसकेको छ । बजार पनि छैन र जारी भएका ऋणपत्रहरु कारोबार पनि हुँदैन । त्यसैले छुट्टै ऋणपत्र बजार चाहिएको छ, यसले बैंकिङ क्षेत्रमा तरलता समस्या पनि हुन दिँदैन र ब्याज दरलाई पनि स्थायित्व दिन मद्दत गर्छ ।

ऋणपत्र बजार विकासका लागि बैंकको ऋणलाई नै उपयोग गर्न सकिन्छ । सन्सारका धेरै देशमा यसको अभ्यास भएर राम्रो प्रगति पनि गरिरहेका छन् ।

कुनै बैंकले आफ्नो कुल ऋण वा कुल ऋणको केही भागलाई टुक्र्याएर ऋणपत्रमार्फत बजारमा बिक्री गर्न पाउनु पर्छ । त्यसरी ऋणलाई ऋणपत्रमा परिवर्तन गर्दा त्यसको जोखिमलाई पनि मूल्यांकन गर्नु पर्छ । जोखिमका आधारमा ब्याज दर निर्धारण गर्न सकिन्छ ।

कसरी ऋणपत्र बनाउने ?
बैंकहरुले ऋण दिइरहेका हुन्छन् । मानौं १० अर्बको ऋणलाई ऋणपत्रका रुपमा ल्याउन प्रति कित्ता ५ हजार, १० हजार भाउ तोक्न सकिन्छ । अहिले जसरी कागजको ऋणपत्र हुन्छ, त्यसैगरी प्रवाह भएको ऋणको आधारमा ऋणपत्र जारी गर्न सकिन्छ । १० अर्बको ऋणलाई ऋणपत्र बनाइयो भने त्यो ऋण डुब्ने सम्भावना २ प्रतिशत होला। २ प्रतिशत हुन आउने रकमलाई ऋणपत्र जारी गर्ने संस्थाले एउटा कोष बनाएर राखिदिँदा जोखिम पनि हुँदैन ।

ऋणपत्रलाई बजारमा पठाउँदा ब्यक्ति तथा संस्थाहरुले किन्ने छन्। उनीहरुलाई एकरदुई बर्षे निक्षेपको ब्याजभन्दा ऋणपत्रले आकर्षित गर्न सक्छ । दीर्घकालिन लगानीकर्ताहरु, विभिन्न कोष, पेन्सन फण्ड, बीमा कम्पनीहरुले यस्तो ऋणपत्र किन्न सक्छन् ।

कुनै बैंकले आफ्नो कुल ऋण वा कुल ऋणको केही भागलाई टुक्र्याएर ऋणपत्रमार्फत बजारमा बिक्री गर्न पाउनु पर्छ । त्यसरी ऋणलाई ऋणपत्रमा परिवर्तन गर्दा त्यसको जोखिमलाई पनि मूल्यांकन गर्नु पर्छ । जोखिमका आधारमा ब्याज दर निर्धारण गर्न सकिन्छ ।
यी संस्थाहरुले निक्षेपका रुपमा बैंकमा राख्ने पैसा ऋणपत्र खरीदमा जान्छ । त्यसो हुँदा निक्षेपलाई प्रभावित गरेर ब्याज तलमाथि गर्नसक्ने अवस्था पनि हुँदैन। ऋणपत्र बेच्दा बैंकले पैसा पाउँछ। त्यो पैसा फेरि ऋण लगानीमा प्रयोग गर्न सकिन्छ। यसरी ऋणपत्र बेचेर आएको पैसा उत्पादनशिल क्षेत्रमा लगानी गर्न सकिन्छ ।
ऋणलाई टुक्र्याएर ऋणपत्र बनाइने हुँदा अलिकति जोखिम किन्नेलाई हुन्छ । तर किन्नेले प्रिमियम मूल्य पाउने भएकाले उसले पनि केही जोखिम उठाउनु पर्छ। त्यत्तिकै पैसा राख्नुभन्दा ऋणपत्र बजारमा दुई पैसा बढि प्रतिफल लिनु उसका लागि आकर्षण हुनसक्छ ।
ब्याज दर बजारले निर्धारण गर्छ । जोखिमको मात्रा अनुसार ब्याज निर्धारण हुन्छ। ऋणको स्तर अनुसार ब्याज निर्धारण हुँदा बढि जोखिम लिनेले बढि आम्दानी गर्ने मौका पाउँछन् । कम जोखिम लिनेले कम प्रतिफल लिन्छ। ऋणलाई ऋणपत्रका रुपमा बेच्दा जोखिम पनि बाँडिन्छ ।


बैंकको ऋणहरुलाई ऋणपत्रका रुपमा परिवर्तन गरेर बेच्दा ऋणपत्र बजारको पनि विकास हुन्छ ।किनभने आज भोली नै किन्नु पर्ने वा बेच्नु पर्ने अवस्थामा संस्था र ब्यक्तिहरु हुन्छन्। यसले गर्दा बजारको बिस्तार हुन्छ। संस्थागत निक्षेप वा लगानीकर्ताहरु यतातिर आउँछन् । हिजोका दिनमा मेरो पैसा राखिदिनु भन्दै संस्थागतहरु बैंक धाउँथे। अहिले बैंकहरु संस्थागतको कार्यालय धाउँछन्। यसरी ऋणपत्र बजार विकास भएमा दुबै जना धाउनु पर्दैन। आवश्यकता बजारबाटै पुर्ति हुन्छ।

बचतमा थोरै पैसामा राख्नुभन्दा ऋणपत्र बजारमा लगानी गर्दा फाइदा हुन्छ। ऋणपत्र बजारका लागि सरकारले अलिकति काम गरिदिनु पर्छ। नीतिगत निर्णयहरु गरिदिनु पर्छ। राष्ट्र बैंकले पनि ऋणपत्रमा परिवर्तन गर्ने बाटो खोलिदिनु पर्छ।

ऋणपत्र बजारलाई नियमनका लागि केन्द्रीय बैंकले पूर्वाधारहरु बनाउनु पर्छ। अहिलेलाई कुल ऋणमध्ये रियलस्टेट वा उत्पादनमूलकको हिस्सालाई ऋणपत्रमा परिवर्तन गरेर बेच्न सकिने बाटो खोलिदिन सकिन्छ। आज सुरुवात भयो भने भविस्यमा यसले बिस्तार गर्ने समय पाउँछ। सरकारी प्राथमिकतामा पनि ऋणपत्र बजार छ। हाम्रै पैसा आन्तरिक रुपमा परिचलान गर्न सकिन्छ। यसले गर्दा आर्थिक विकासलाई सघाउँछ। ऋण दिन नसकेर छट्पटाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ।

ऋणलाई परिवर्तन गरेर बिक्री गरिएको ऋणपत्र बेच्नेका लागि थप तरलता प्राप्त गर्ने साधन बन्छ। किन्नेका लागि लगानी बन्छ। त्यसैले नयाँ नीति तर्जुमा गर्न ढिलाइ गर्नु हुँदैन। सँधै परम्परागत निक्षेप र रेमिटेन्सको भर गरेर बस्नु हुँदैन।

प्रकाशित मितिः     १८ पुष २०७५, बुधबार ०७:२६  |
error: Content is protected !!