नेपालगन्जमा पुसदेखि फागुणसम्म महिनैपिच्छे महोत्सव


फाईल तस्बिर

बाँके :  तपाईलाई महोत्सव हेर्ने रहर छ ? यदि छ भने अब तपाईको रहर पुरा हुन्छ ।  त्यो पनि एक पटक होइन पटक पटक । नेपालगन्ज उपमहानगरपालिका भित्र अब महिनैपिच्छे महोत्सव हुँदैछ । पुस महिनादेखि फागुण महिनासम्म महोत्सव सन्चालन हुँदैछन् ।

       अबको केही दिनमै अर्थात पुस २६ गतेदेखि माघ ८ गतेसम्म नेपालगन्ज महोत्सव सुरु हुँदैछ । एजि सर्भिस प्रालिले कृषि पर्यटन व्यापार तथा बृहद सांस्कृतिक कार्यक्रम गर्न लागेको छ । आयोजकले १ लाख दर्शक भित्रा्उने लक्ष्य राखेको छ ।  त्यसपछि फागुण २ गतेदेखि १३ गतेसम्म घरेलु तथा साना उद्योग महासंघ बाँकेले सडक डिभिजन परिसरमा महोत्सव आयोजना घोषणा गरेको छ । घरेलु उद्योगलाई प्रोत्साहन गर्न लागिएको आयोजकको भनाई छ ।

       यि सबै महोत्सव सम्पन्न भइसकेपछि नेपालगन्ज उद्योग वाणिज्य संघले फागुण १६ गतेबाट २६ गतेसम्म प्रादेशिक महोत्सव गर्दैछ ।  पछिल्लो समय सामाजिक कार्यमात्र होइन आर्थिक लाभका लागि पनि महोत्सवहरु सन्चालन भइरहेका छन् । कतिपय संघसंस्थाहरुले राम्रैकाम लागि महोत्सव गरेका छन् भने कतिपय महोत्सव बिबादित र अपारदर्शीरुपमा सन्चालित छन् । यस्तो महोत्सवले फजुल खर्च बढाउने गरेको छ । त्यस्ता महोत्सवले स्थानीय उत्पादन र व्यवसायलाई फाईदा गरेका छ की छैनन् भन्ने हेरिएको छैन । अनुमति दिने निकायले पनि यि कुराहरुलाई हेक्का राखेको पाईदैन ।

       एउटै ठाउँमा महिनैपिच्छे महोत्सवका लागि अनुमति दिने निकायले के हेर्छन भन्ने प्रश्न उठेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले बर्षौदेखि महोत्सव आयोजना गर्दै आएको छ । पश्चिम नेपालकै भब्य बहुउदेश्य हल निर्माणको उदेश्य राखेर महोत्सव गरिन्छ । हालसम्म तीन करोड रकम संकलन भइसकेको र थप रकमका लागि महोत्सव गर्न लागिएको अध्यक्ष नन्दलाल बैश्यले बताए । उनले भने,‘स्थानीय व्यापार प्रर्बधन र समग्र नेपालगन्जको हितका लागि बहुउदेश्यीय सभागृह निर्माण गर्नका लागि महोत्सव गर्दै आएका छौं । प्रादेशिक महोत्सवलाई आमनागरिकहरुले आफ्नो बनाउनु भएको छ ।’

प्रकाशित मितिः     २२ पुष २०७५, आईतवार १३:५८  |