महङ्गोमा बिक्छ घोङी


बाँके :  बर्दिया राजापुर –८ का प्रकाश थारुलाई अहिले घोङी किन्नेको बिभिन्न ठाउँबाट दैनिक फोन आईरहन्छन । थारु समुदायको सबैभन्दा ठुलो पर्व माघी आउन केही दिन मात्र बाँकी रहेका बेला घरायासी तथा मेला, महोत्सवमा बिक्री गर्नका लागि घोङीको माग अत्याधिक हुने गरेको छ । माघ अधिक भएपनि अत्याधिक चिसोका कारण भनेजस्तो घोङी भेटाउन नसकिएको थारुले बताए ।
‘घोङी पठाईदिनुपर्यो भन्दै दिनदिनै फोन आईरहेको छ । तर दिन सकेको छैन ’– थारुले भने,‘ यसपाली भनेजस्तो भेटाउन सकिएको छैन ।’ तीन वर्षदेखि घोङीको कारोवार गर्दै आएका प्रकाशले आफ्नै तलाउबाट घोङीको जोहो गर्छन । थारु समुदायमा घोङीको परिकारलाई बिशेष मानिन्छ । स्वास्थ्यका लागि उपयोगी मानिने घोङी पछिल्लो समय हरेक समुदायले रुचाउने गरेका छन् ।
होमस्टे, रेष्टुरेण्टहरुमा समेत बिक्री हुन थालेपछि घोङीबाट राम्रै आम्दानी हुन थालेको प्रकाशले बताए । उनले भने,–‘तीन वर्ष अघि प्रति केजि रु ३० मुल्य थियो तर अहिले एक सय ५० सम्म पुगेको छ ।’ गाभर होमस्टेका सन्चालक एवं होमस्टे एशोसियन प्रदेश नम्बर ५का सचिव कृष्ण चौधरीले घोङीको बिक्रीबाट स्थानीयले आम्दानी गर्ने अवसर पाएको बताए । उनले भने,–‘घोङी मौलिक परिकार बनेको छ । सबैले रुचाएपछि माग पनि बढेको हो ।’
थारु समुदायको मौलिक परिकारहरु बिक्री हुने नेपालगन्जको गोचाली रेष्टुरेण्टमा घोङको परिकार खान आउनेहरुको भिड नै लाग्छ । सामान्य अवस्थामा पनि दैनिक दुई केजिसम्मको घोङीको परिकार बिक्री हुने गरेको गोचाली रेष्टुरेण्टका सन्चालक सोम डेमनडेउराले
बताए । घोङीको परिकार पिलेटका ६० देखि ७० सम्म पर्छ ।

यसरी बनाउन सकिन्छ घोङी ।

आफ्नो आवश्यकता र स्वाद हेरी घोङीलाई स्वादिष्ट रुपमा पकाउन सकिन्छ ।

१. घोङीलाई ठुलो बाटामा भरि पानी राखेर एक मुठी पिठो हालेर रातभरि ढडाउने,

२. रातभरिमा घोङी भित्र रहेका फोहर बाहिर निस्कन्छ र त्यसलाई ४र५ पटक सफा पानीले पखाल्ने,

३.पखालिसकेपछी अब घोङीको टुप्पोलाई काट्ने, जसको लागि धारिलो खुर्पा वा चक्कु प्रयोग गर्नुपर्छ ।


४.टुप्पो काटी सकेपछि घोङीलाई फेरी पखाल्ने ।

५. अब अन्य तरकारी पकाए जस्तै घोङीलाई पकाउन सकिन्छ ।

६.घोङी पकाउन थारु समुदायले तेल, तोरी, लुसुन र खुर्सानीको बढी प्रयोग गर्छन् ।

७.सबै तेल मसला हालेर केही छिन भुटेपछि पानी हालेर छोप्नु पर्छ ।

८.घोङीको सुप पनि खान सकिन्छ अथवा पानी सुकाएर घोङी मात्रै चुस्न पनि सकिन्छ।

प्रकाशित मितिः     २७ पुष २०७५, शुक्रबार १६:५२  |
error: Content is protected !!