बाँके : स्थानीय तहले निर्माण सम्बन्धि कामहरु दिन नमानेपछि निर्माण व्यसासय बिस्तापित हुने अवस्था आएको बाँके, बर्दियाका निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् । कार्यकर्ता पोस्ने नियतले स्थानीय तहले जथाभावी उपभोक्ता समिति गठन गर्दै ठेक्काको काम दिन थालेको निर्माण व्यवसायीहरुको गुनासो छ ।
बाँके निर्माण व्यवसायी संघको १८ औं साधारणसभामा बोल्दै निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ५ का बरिष्ठ उपाध्यक्ष सुरेश चन्दले सानो पुँजी भएका निर्माण व्यवसायी धरासायी बनेको बताए । उनले भने,‘स्थानीय तहले टेण्डर निकाल्नै छाडे । जम्मै काम उपभोक्ता समिति मार्फत गरेका छन् । यस्तो अवस्थामा हामी जिल्लाका निर्माण व्यवसायी बिस्तापित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।’
निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबिन सिंह, बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाल, उपाध्यक्ष टोपबहादुर रायमाझी, प्रदेश ५ का अध्यक्ष बलिभद्र राना लागयत सहभागि साधारणसभाको उद्घाटन सत्रमा बाँके निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष समेत रहेका चन्दले स्थानीय निर्माण व्यवसायी धरासायी बन्ने अवस्थाको अन्त्य गर्नका लागि पहल गरिदिन केन्द्रसंग आग्रह गरे ।
उद्घाटन सत्रमै बोल्दै बाँके निर्माण व्यवसायी महासंघका सल्लाहकार शशी शाहले स्थानीय तहले जुम्रा जस्तै निर्माण व्यवसायी जन्माउने गरेको र बैधानिकरुपमा निर्माण सम्बन्धित काम गर्दै आएका निर्माण व्यवसायीहरु धरासायी बनेको बताए । निर्माण व्यवसायी महासंघका बाँके अध्यक्ष टेकबहादुर खड्को अध्यक्षतामा उद्घाटन सत्र सन्चालन भइरहेको छ ।