बिदा नभएका सरकारी कार्यालय : दिनभर कुरेर बस्यो सेवाग्राही आउने होइन


नेपालगन्ज : माघी पर्वको अवसरमा प्रदेश नम्बर ५ सरकारले दुई दिनको सार्वजनिक बिदा दिएको छ । प्रदेश मातहतका सरकारी कार्यालय बिदा भएपनि केन्द्र सरकार मातहत रहेका बाँकेका कार्यालय भने खुल्ला रहे ।
मंगलबार प्रदेश मातहतका सरकारी कार्यालय बन्द रहंदा नेपालगन्जमा रहेका केन्द्र मातहतका सरकारी कार्यालय भने अघिल्ला दिन जस्तै खुल्ला रहे । कर्मचारीहरु दश बजे नै नियमितरुपमा कार्यालय पुगे । कामको चाजोपाँचो मिलाए । सेवाग्राही आउने आशमा दिनभर कार्यालयमै बसे ।


तर दिनभर बस्दा समेत कार्यालयमा सेवाग्राही भने आएनन् । कर्मचारीहरु दिनभर कार्यालय कुरेरै बसे । जिल्ला प्रशासन कार्यालय बाँके, मालपोत, कर, खाद्य प्रविधि तथा गुण नियन्त्रण, हुलाक जस्ता केन्द्र मातहतका कार्यालय खुल्ला रहे । जिल्ला प्रशासन कार्यालय बाँकेमा केही सेवाग्राहीहरु पासपोर्टका लागि आएका थिए । बाँकी कार्यालय सुनसान नै रहेको थियो ।

अन्य दिनमा सबैभन्दा भिडभाड हुने मालपोत कार्यालयमा पुग्दा एउटै सेवाग्राही भेटिएनन् । कर्मचारीहरु कुर्सीमा सेवाग्राही पर्खेर बसिरहेका देखिन्थे । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पुग्दा त्यहाँ त झन् एउटै सेवाग्राही पनि नआएको कर्मचारीले बताए ।

प्रकाशित मितिः     १ माघ २०७५, मंगलवार १९:१२  |