नेपालगन्ज : कपास विकास समिति खजुरा, बाँकेलाई प्रभावकारी रुपमा सन्चालन गराउनका लागि सुझाव पेश गर्न गठन भएको कार्यदलले भारत लगायत तेस्रो देशबाट भित्रिने कालो कपास नियन्त्रण गर्न सुझाव दिएको छ । त्यस्तो कपासले नेपालीको स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै स्वदेश कपास उद्योगलाई समेत घाटा गरेको कार्यदलको निष्कर्ष छ ।
२०३७ सालबाट सुरु भएको कपास विकास समितिलाई प्रभावकारीरुपमा सन्चालन गर्न कस्ता सुधारका काम गर्न सकिन्छ भन्ने बिषयमा सुझाव संकलन गर्न कृषि मन्त्रालयका सहसचिव गोविन्द प्रसाद शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले कपास विकास समितिलाई नयाँ जीवन दिनका लागि बिभिन्न सुझाव दिने क्रममा बिदेशबाट आयात हुने कालो कपास नियन्त्रण गर्न सुझाव दिएको हो ।
नेपालमा वार्षिकरुपमा भारत लगायत तेस्रो देशबाट चार अरवको कालो कपास भित्रिने गरेको पाईएको छ । नेपालको कपास गुणस्तरिय तर धेरै पैसा पर्छ भने भारतीय कमसल कपास सस्तो पर्ने भएकाले धेरैले त्यही खरिद गर्छन । त्यस्तो कपासले मानव स्वास्थ्यमा असर पार्नुका साथै कपास विकास समितिले उत्पादन गरेको कपास समत बिक्री नहुने अवस्थामा पुरयाएको छ । कार्यदलले त्यस्तो कपासको गुणस्तर परिक्षण गर्दै नियमन गर्नुपर्ने सुझाव दिएको कार्यदलका सदस्य एवं कपास विकास समितिका निमित्त कार्यकारी प्रमुख बिजय कुमार जोशीले जानकारी दिए । कार्यदलले सोमबार कृषि मन्त्री चक्रपाणी खनाललाई सुझाव पेश गरिसकेको छ । उक्त कार्यदलले कपास विकास समितिलाई माथि उकास्न देशभर सन्चाल गर्न सुझाव दिएको जोशीले बताए । उनले अव कपास विकास समिति नयाँ तरिकाले सन्चालन हुने आश गरेका छन् ।