नेपालगन्ज : बाँकेको ग्रामिणक्षेत्रका किसानले उत्पादन गरेको दुध खरिद गरी नेपालगन्ज उपमहानगरपालिका भित्र बिक्री बितरण गर्दै आएका दुध संकलनहरुले प्रहरीबाट अवरोध सिर्जना भएको गुनासो गरेका छन् ।
सय बढि यस्ता दुध संकलनहरुले मोटरसाईकलमा हालेर नेपालगन्जका घर घरमा पुगेर बिक्री गर्दै आएका छन् । मोटरसाईकलमा यसरी दुध बिक्री गर्न नपाउने भन्दै प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाभित्र प्रवेश गर्न नदिईएको उनीहरुको भनाई छ । दुध संकलनहरुले आफुहरुबाट प्रहरीले पाँच सयसम्म पैसा लिएपछि भने प्रवेश गर्न दिने गरेको बताए ।
‘यसरी मोटरसाईकलमा दुध ल्याउन पाईदैन भन्दै अवरोध गरिन्छ । बिना रसिद पैसा दिएपछि भने छाडिन्छ’ नाम नबताउने
सर्तमा खजुराका दुध संकलकले भने–‘हरेक दिन यस्ता अवरोध हटाउदै दुध बिक्री गरिरहनुपरेको छ ।’ बिहान चार बजे उठेर किसानको घरमा पुगेर संकलन गरेको दुध संकलकहरुले मोटरसाईकलमा हालेर नेपालगन्जमा बिक्री गर्दै आएका छन् । आफुहरुले बिक्री गर्ने दुध गुणस्तरिय रहेको ती दुध संकलकले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले दुध बिक्रीमा कुनै अवरोध सिर्जना नगरिएको बताएका छन् । त्यस्तो कार्य गर्नेलाई कारवाही हुने पनि बताए ।