सहुलियत ऋण नदिने बैंक बिरुद्ध राष्ट्र बैंकमा उजुरी गर्नुहोस्


नेपालगन्ज : जुनसुकै बैंक तथा वित्तीय संस्थाका शाखाबाट सहुलियतपूर्ण ऋण पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पूर्ण शाखाहरुबाट सहुलियत पूर्ण ऋण प्रदान गर्न निर्देशन दिएको छ।

कतिपय क्षेत्रबाट सहुलियतपूर्ण ऋण नपाएको गुनासो आएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो। सहुलियतपूर्ण ऋणमा सरकारले नै ५ वा ६ प्रतिशत व्याज अनुदान प्रदान गर्दछ। बैंकको आधार व्याजदरमा २ जोडेर आउने व्याजमा सरकारले सो दर तिरिदिएपछि बाँकी ब्याज ऋणीले तिरे पुग्छ।  शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशिल कर्जा, दलित समुदाय व्यवसाय विकास परियोजना, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, कृषि तथा पशुपन्छी कर्जा योजना जारी भएका छन्।

यीमध्ये महिला उद्यमशील कर्जामा ६ प्रतिशत तथा अन्यमा ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्न सकिन्छ। जुनसुकै व्यवसाय गर्न चाहनेले आफ्नो नजिक रहेको कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरुमार्फत सहुलियत व्याजदरको ऋण प्राप्त गर्न सक्नेछन्। यसका लागि बैंकले नै फारम दिनेछ। सो फारमसँगै आफूले गर्ने कामको विस्तृत परियोजनाको विवरण भरेर आवेदन दिन सकिनेछ। यसका लागि आफ्नो कम्पनी भने दर्ता हुनु जरुरी छ।

वैदेशिक रोजगारबाट फर्केकाले पाउँछन् यस्तो ऋण 
वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै व्यवसाय गर्न चाहेमा सरकारले सहुलियत दरको ऋण प्रदान गर्ने गरेको छ।यस्तो ऋणमा ५ प्रतिशत व्याज अनुदान पाइन्छ। अर्थात ऋण लिएवापत बैंकलाई तिर्नुपर्ने व्याज सस्तो पर्न आउँछ। कुनै पनि देशमा कम्तीमा ६ महिना काम गरी फर्केका युवाले स्वदेशमै व्यवसाय गर्न यस्तो ऋण लिन पाउँछन्। ऋण लिने व्यक्ति विदेशबाट फर्केको ३ वर्ष नाघेको हुुनु हुँदैन। जुनसुकै कृषि काम गर्न, व्यवसाय गर्न यस्तो ऋण पाइन्छ।

महिलाहरुले पाउँछन् सहुलियत ऋण 
स्वदेशमै व्यवसाय गर्न चाहने महिलाले यस्तो ऋण पाउँछन्। सिलाईबुनाई, पेन्टिङसम्बन्धी काम, राडीपाखी, ऊनी तथा गलैंचा बनाउने उद्योग खोल्न यस्तो ऋण पाइन्छ। हस्तकला व्यवसाय गर्न, सुनचाँदी, तामा, पित्तलसम्बन्धीका कामका लागि पनि ऋण पाइन्छ।

त्यस्तै, सेरामिक्स, पुतली तथा खेलौनासम्बन्धी व्यवसाय, धुपबत्ती बनाउने, चित्रकला तथा कागजका काम गर्न चाहनेले पनि यो ऋण लिन सक्छन्। चिया तथा खाजा पसल सञ्चालन गर्न, टेम्पो वा ट्याक्सीका लागि, ठेलागाडा, स्टेसनरी तथा साइबर सञ्चालन गर्न ऋण पाइन्छ। यीबाहेक सबै कृषि कामका लागि महिलाहरूले यस्तो ऋण लिन सक्छन्।

कृषि उद्यम गर्नलाई पाइन्छ यस्तो ऋण 
राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म ९ हजार ७४९ जनाले सहुलियत व्याजमा कृषि उद्यम गर्न ऋण लिएका छन्। धान, गहुँ, मकै, कोदो, जौँ, तोरी, सरस्युँ, केराउ, चना, भटमास लगायत अन्नबाली उत्पादन तथा प्रशोधनका लागि यस्तो ऋण लिन सकिन्छ। त्यस्तै चिया, अलैँची, नरिवल, कपास, अल्लो, अदुवा, रबर, उखु, मरिच, बेसार जस्ता नगदेबाली गर्नेहरुले यो ऋण लिन पाउँछन्।

लसुन, प्याज, काउली, बन्दा, कुरिलो, भेन्टा, ब्रोकाउली, गोलभेंडा, खुर्सानी, पिडालु, मुला, गाजर, तरुल, घिरौंलाजस्ता तरकारी खेतीका लागि यो ऋण पाइन्छ।

आँप, सुन्तला, स्याउ, अनार, अम्बा, कागती, केरा, लप्सी, लिची, मेवाजस्ता फलफूल खेतीका लागि यो ऋण लिन सकिन्छ। यीबाहेक गाई, गोरु, भैंसी, बाख्रा, कुखुरा, मौरीपालनका लागि ऋण लिन सकिन्छ। मत्स्यपालन, बंगुरपालन, रेशमकिरा पालनको लागि ऋण लगानी गर्न सकिन्छ। तपाईले गर्ने व्यवसायका लागि चाहिने कृषि यन्त्रहरु, औषधि तथा दानापानीका लागि यो रकम खर्चिन सकिन्छ।

शिक्षित भइकन बेरोजगार बसेका युवाले पाउँछन् सहुलियत ऋण 
शिक्षित भइकन पनि बेरोजगार भएका अर्थात कम्तीमा स्नातक तह उतीर्ण गरेका युवाले ‘युवा स्वरोजगार कर्जा’ पाउँछन्। यसको अधिकतम सीमा ७ लाख रुपैयाँ छ।

यस्तो ऋणबाट युवाहरुले कम्प्युटर हार्डवेयर, सफ्टवेयरसम्वन्धी व्यवसाय गर्न सक्छन्। मोबाइल तथा अन्य इलेक्ट्रोनिक्स सामानको व्यवसाय गर्न सक्छन्। साइबर, खाजा पसल, होटल तथा अन्य व्यवसाय संचालन गर्न सक्नेछन्।

दलित समुदायले पाउँछन् सहुलियत ऋण 
दलित समुदाय व्यवसायिक कर्जाअन्तर्गत १० लाख रुपैयाँसम्म ऋण पाइन्छ। परम्परागत बाजा बनाउन, सुन, चाँदी, फलाम लगायत भाँडाकुँडा उद्योग तथा व्यवसायमा यो ऋण परिचालन गर्न सकिन्छ। जुत्ता, चप्पल तथा कपडा उद्योग लगायत व्यवसाय गर्नका लागि यस्तो ऋण पाइन्छ।

कसरी कहाँबाट लिने ऋण ?

तपाईंलाई पायक पर्ने जुनसुकै बैंक तथा वित्तीय संस्थाको शाखाबाट यो ऋण पाइन्छ। सकेसम्म आधार व्याज कम भएको बैंक छान्नु उपयुक्त हुन्छ।

बैंकको शाखामा गई कर्जा मागको निवेदन दिनुपर्छ। एउटा बैंक खाता खोल्नुपर्छ, बैंकले दिएअनुरुपको ढाँचामा परियोजनाको प्रस्ताव पेश गर्नुपर्नेछ। फर्म दर्ताको प्रमाणपत्र, आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्यान प्रमाणपत्रको प्रतिलिपी, ऋणी र परिवारको नागरिकता प्रमाणपत्रको प्रतिलिपी लगायत आवश्यक कागजात बुझाउनुपर्छ।

प्रक्रिया पुरा भइसकेपछि निश्चित रकमबाट काम थाल्दै जान सकिन्छ। एकै पटक सम्पूर्ण ऋण नपाइने भएकाले परियोजनाको ढाँचाअनुरुप खर्च हुँदै गएपछि थप रकम पाइँदै गर्छ।

चाहेको बैंकको कुनै शाखाले दिन नमानेमा तपाईले सिधै राष्ट्र बैंकमा उजुरी गर्न सक्नुहुन्छ। राष्ट्र बैंकको नजिकको क्षेत्रीय कार्यालय वा प्रधान कार्यालयमा सीधै फोन गरी वा इमेलमार्फत उजुरी गर्न सकिने प्रवक्ता नारायण पौडेलले जानकारी दिए। gunaso@nrb.org.np मा इमेल गरी वा फोन नं. ०१ ४४११४०७ मा गुनासो गर्न सकिनेछ।बैंकिग खबरबाट

प्रकाशित मितिः     १७ माघ २०७५, बिहीबार १३:३६  |