बाँकेमा मोहियानी हकका लागि २४ सय ६० जनाको निवेदन, धेरै छुटेको आशंका,


बाँके :  भुमिसुधार तथा मालपोत कार्यालय बाँकेले आगामी नौं महिना भित्र २४ सय ६० जनाको मोहि बाँडफाँट सम्बन्धी मुद्दा फर्छौट
गर्नुपर्नेछ । तर त्यसका लागि कर्मचारी अभाव भएपछि कसरी मुद्दा फर्छौट गर्ने हो भन्ने टाउको दुःखाईको बिषय बनेको छ ।
मोही बाँडफाँटका लागि जरुरी रहेको म्याद तामेलीको काममा खटिने एक जना मात्र कर्मचारी छन् । तीनै एकजना कर्मचारी साईकलमै जिल्लाभर म्याद तामेलीको लागि दौडिरहन्छन् । जिल्लाको सबैभन्दा बिकट नरैनापुरमा म्याद तामेली गर्न त झन् कठिनाई
छ । कर्मचारी अभावका बीच आगामी भदौ महिनाभित्र हाल मोहि बाँडफाँटका लागि परेका मुद्दा फर्छौट गर्नुपर्ने समयसीमा रहेको भुमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले जानकारी दिए ।
‘तामेली नभएसम्म मुद्दाको प्रक्रिया अगाडी बढ्दैन । त्यही कामका लागि हामीसंग एक जना मात्र कर्मचारी छन् ।’ भुमि तथा मालपोत सम्बन्धी काममा जानकार र अब्बल मानिने दौल्यालले भने –‘जतिसुकै कठिनाई भए पनि प्राप्त जिम्मेवारी पुरा गर्छौ ।’ कर्मचारी अभाव भएकै कारण अहिले पनि काम नरोकिएको र आगामी दिनमा पनि नरोकिने दौल्यालले  बताए ।
सरकारले मोहि बाँडफाँटका लागि निवेदन दिन माघ १५ अन्तिम सीमा तोकेको  थियो । अब त्यसबेलासम्म परेका निवेदनहरु माथि मात्र कामहरु हुनेछन् । मोहिका अन्य कामहरु हुने भएपनि मोहि पाउनका लागि निवेदन दिन अर्को व्यवस्था नहुँदासम्म रोकिएको छ । हाल परेका निवेदन माथि आगामी भदौसम्म छानविन हुन्छ । बाँकेमा २४ सय ६० निवेदन परेका छन् । जानकारी अभावमा अझ धेरै जना छुटेको आशंका गरिएको छ ।


प्रकाशित मितिः     १८ माघ २०७५, शुक्रबार ११:००  |
error: Content is protected !!