बाँके : नेपालगन्जमा खुलको सोल्टी होटलले पाँच तारेको लाइसेन्स पाएको छ। एक वर्ष अघि संचालनमा आएको उक्त होटलले पर्यटन विभागबाट हालैमात्र पाँच तारे स्तरको प्रमाणपत्र पाएको होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले जानकारी दिए। सरकारले काठमाडौं बाहिरका होटलका लागि मापदण्ड हेरफेर गरेपछि अहिलेकै पूर्वाधारमा होटलले पाँचतारेका लागि आवेदन दिएको थियो। विभागले होटलको अनुमगन पछि प्रमाणपत्र दिएको खड्काले जानकारी दिए।
काठमाडौंमा होटल सोल्टी क्राउनप्लाजा सञ्चालन गरिरहेको सोल्टी होटल लिमिटेडकै लगानीमा नेपालगन्जमा उक्त होटल सञ्चालनमा आएको थियो। पाँच तारे स्तरको प्रमाणपत्र पाएपछि उक्त होटलमा अब लाइभ क्यासिनो सञ्चालन हुने छ। अहिले मिनी क्यासिनो चलाइरहेको होटलमा काठमाडौंको सोल्टीमा क्यासिनो चलाइरहेको महाजनले नै चलाउने खड्काले जानकारी दिए। नेपालमा लाइभ क्यासिनो चलाउनका लागि पाँच तारे स्तरको होटल तथा रिसोर्ट हुनुपर्छ। योसँगै नेपालमा संचानमा रहेका पाँच तारे होटलको संख्या सात पुगेको छ। एभरेष्ट होटल र फुलबारी रिसोर्ट अहिले बन्द रहेका छन्। त्यस्तै भैरहवाको पवन प्यालेस, काठमाडौंको अलफ्ट पाँच तारेका रुपमा संचालन हुने तयारीमा छन्।
‘सोल्टी वेस्टेन्ड प्रिमियर’ को नामबाट सञ्चालित उक्त होटलको स्वामित्व सोल्टी इन्टरप्राइजेज र एनई ग्रुपको संयुक्त कम्पनी सिवक्रिम होटल एन्ड रिसोर्ट प्रा.लि.मा छ। ८४ कोठा भएकोमा स्वीट रूमलाई घटाउँदा ८१ व्यवसायिक कोठा होटलमा छन्।
वातावरणीय अनुकुल हुनेगरी निर्माण गरिएको र क्लासिक डिजाइको साजसज्जासहित नेपाली ब्रान्ड र सोल्टीको आफ्नै व्यवस्थापनमा सञ्चालन हुनेछ। यसमा सोल्टी क्राउन प्लाजाको कुनै पनि सहभागिता छैन।
तर गुणस्तरमा भने सोल्टीले कुनै सम्झौता नगर्ने खड्काको भनाइ छ।
‘नेपालगञ्जको सोल्टीमा हाम्रो आफ्नै व्यवस्थापन हो, तर सोल्टीको लामो समयदेखिको अनुभव तथा प्रविधिको कारणले सबै गुणस्तर पुरा हुन्छ सोल्टीकै अर्को कम्पनी सिवक्रिम भएकोले ले सक्षम व्यस्थापन यसमा प्रयोग भइरहेको छ’, उनले भने। खड्काका अनुसार होटलका कोठामा एसीको ठाउँमा रेडियन्ड प्रविधि प्रयोग गरिएको छ। जसमा सिलिङमा मसिना पाइप टासिएको हुन्छ जुन एउटा प्रणालीमा आबद्ध हुन्छ। जाडो महिनामा उक्त पाइपको सञ्जालबाट तातो पानी प्रवाह हुन्छ भने गर्मीमा चिसो पानी। अन्तर्राष्ट्रिय होटल चेन ओवरायको ६.१८ प्रतिशत सेयर किन्दै एनई ग्रुप सोल्टीमा प्रवेश गरेको थियो। सिवक्रिम ल्यान्डएन्ड इन्ड्रष्ट्रियल प्रालिको नामबाट सोल्टीको सेयर लिएपछि नयाँ कम्पनी बनाएर देशव्यापी सोल्टीकै नामबाट होटल निर्माण गर्ने लक्ष्य लिएको छ। सोल्टीको ४६ र सिवक्रिमको ३० प्रतिशत शेयर रहने सिवक्रिम होटल एन्ड रिसोर्ट प्रालिले पोखरामा जग्गा लिइसकेको छ। सेतोपाटी