काठमाडौं । बीमितहरूले अब आफ्नो जीवन साथीको निःशुल्करूपमा ‘जीवन बीमा’ गराउन पाउने भएका छन् । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले ‘जीवन साथी बीमा योजना’ ल्याएपछि बीमितहरूले यस्तो सुविधा पाउने भएका हुन् । उक्त योजनाअन्तर्गत कुनै पनि व्यक्तिले आफ्नो जीवन बीमा गर्दा निजको पति/पत्नीको पनि निःशुल्क रूपमा बीमा हुने बताइएको छ ।
कम्पनीले ‘भ्यालेन्टाइन डे’ (प्रेम दिवस) को अवसरमा बुधवार काठमाडौंमा विशेष समारोहका साथ उक्त बीमा योजना सार्वजनिक गरेको हो । बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले उक्त योजनाको अनावरण गरेका थिए । कम्पनीले ‘रहनेछ साथ, जीवन पश्चात्’ भन्ने सन्देशका साथ उक्त बीमा योजना ल्याएको हो ।
१८ देखि ६० वर्षसम्मको उमेर समूहका व्यक्तिहरू यस बीमा योजनामा सामेल हुन पाउने छन् । यसमा बीमांकको न्यूनतम सीमा २ लाख तोकिएको छ । अन्डरराइटिङ नियमअनुसार बीमांकको अधिकतम सीमा जति पनि हुन सक्ने कम्पनीको भनाइ छ । साथै, बीमा अवधि १५ वर्षको हुने बताइएको छ ।
यदि, बीमा अवधिमा बीमितको निधन भएमा इच्छाएको व्यक्तिले बीमांक र बोनस रकम पाउनेछन् । बाँकी अवधिसम्म निजको पति/पत्नीको बीमांकको ५० प्रतिशतबराबरको निःशुल्क बीमा हुने कम्पनीको भनाइ छ । साथै, बीमाजन्य अन्य जोखिमहरूको पनि यस योजनाले रक्षावरण गर्ने बताइएको छ ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत बीमा गर्दा न्यून बीमाशुल्कमा उच्च लाभ लिन सकिने छ । साथै, अधिकतम रू. ७५ लाखसम्मको दुर्घटना लाभ बीमा पनि समावेश गरिएको कम्पनीको भनाइ छ । बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय खारेज हुने बीमा पोलिसीको संख्या बढ्दै गएको बताए । हाल बीमाको पहुँच बढ्दै गएता पनि आम कम्पनीहरूले यस विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले यस योजनाले परिवारमा वित्तीय सुरक्षा प्रदान गर्ने बताए । साथै, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले बजारको मागअनुसार यस बीमा योजना ल्याइएको बताए । उनले भने, ‘जीवन बीमामा पुरूषको हिस्सा बढी छ । अब महिलाको हिस्सालाई पनि बढाउन यस्तो योजना ल्याएका हौं ।’
यसअघि नेपाल लाइफ इन्स्यारेन्सले ल्याएको ‘जीवन सारथी बीमा योजना’ यस्तै प्रकृतिको देखिन्छ । तर, उक्त बीमा योजनाभन्दा जीवन साथी बीमा योजना पृथक् रहेको कम्पनीको भनाइ छ । कम्पनीका सचिव विनोद कुमार भुजेलले भने, ‘एउटै प्रकृति देखिए पनि बीमालेखको प्रकृति र बीमितले पाउने सेवा सुविधा फरक छन् ।’ साथै, यसमा दुर्घटना लाभ बीमालगायत थप सुविधा रहेको कम्पनीले बताएको छ ।
कम्पनीले यसअघि पनि पेन्सन प्लान बीमा योजना सार्वजनिक गरिसकेको छ, जुन नेपाली बीमा बजारमा पृथक मानिन्छ । यसका अतिरिक्त कम्पनीले ‘धन फिर्ता योजना’, ‘अमूल्य जीवन’, ‘जीवनश्री’ जस्ता बीमा योजनामा प्रचलनमा ल्याइसकेको छ ।