कलेज सन्चालनका बिषयमा नेपालगन्ज उपमहानगरपालिका र भक्तपुरका मेयरबीच भेटघाट


बाँके : कलेज सन्चालन बिषयमा नेपालगन्ज उपमहानगरपालिका मेयर डा धवल शमसेर राणा र भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति सहितका जनप्रतिनिधि बीच छलफल भएको छ । दुबै स्थानीय तहका जनप्रतिनिधि बीच आईतबार नेपालगन्जमा भेटघाट भएको थियो ।

भेटघाटका क्रममा नेपालगन्ज उपमहानगरपालिका जनप्रतिनिधिले भक्तपुरका मेयरसंग खोप कलेज सन्चालनको अनुभवका बारेमा जिज्ञासा राखेका थिए । भक्तपुर नगरपालिकाले देशकै नमुनाका रुपमा आफै खोप इन्जिनियरिङ्ग कलेज सन्चालन गरिरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जमा गल्र्स कलेज सन्चालनको तयारी गरिरहेको छ । गल्र्स कलेजका लागि उपमहानगरले रु ८ करोड बिनियोजन समेत गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार भक्तपुर नगरपालिकाका मेयर प्रजापतिले खोप कलेज सन्चालनको अनुभव साटे । कलेज सन्चालन गर्दा सुरुमा निकै कठिनाई भएपनि अहिले सहज हुँदै गएको मेयर प्रजातिले बताए । उनले कलेजलाई राम्रो बनाउन स्थानीय तहमा राजनीतिक स्थायीत्व आवश्यक रहन जरुरी रहेको सुझाव दिएका थिए ।
प्रवक्ता रिजालले भेटघाट सकारात्मक भएको बताए । नेपालगन्जबाट कलेज सन्चालनका लागि भक्तपुरको अनुभव फलदायी हुने रिजालले जानकारी दिए । भेटघाटमा नेकपामा नेता रत्न खत्री लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः     ५ फाल्गुन २०७५, आईतवार १४:२६  |