दाङ्गमा हरेक वर्ष यसरी बढेको छ सिमेन्ट उत्पादन


नेपालगन्ज : दाङ्गमा हरेक वर्ष सिमेन्ट उत्पादन क्षमता बृद्धि हुँदै गएको छ । सिमेन्ट उत्पादनको केन्द्र बनेको उक्त जिल्लामा तीन वर्षयता सिमेन्ट उत्पादनको क्षमतामा उल्लेखिय फड्को मारेको पाईएको छ । पहाडी भेगमा रहेको चुुनढुंगा खानीलाई मुख्य केन्द्र बनाउँदै जिल्लाको तराई क्षेत्रमा सानाठूला सिमेन्ट उद्योग खेल्ने क्रम बढिरहेको छ । यसले दाङलाई सिमेन्ट उद्योगको हबका रूपमा चिनाउँदै छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनका अनुसार गत आर्थिक वर्ष २०७४ र २०७५ मा दाङ्ग जिल्लामा ६ लाख ४२ हजार ७ सय ५५ मेट्रिक टन सिमेन्ट उत्पादन भएको थियो । जबकी आर्थिक वर्ष २०७३ र २०७४ मा दाङ्गमा ५ लाख ४२ हजार ७ सय ५५ मेट्रिक टन सिमेन्ट उत्पदान भएको थियो । तीन वर्ष अघि आर्थिक वर्ष २०७२ र २०७३ मा ३ लाख २४ हजार ६ सय ६० मेट्रिक टन सिमेन्ट उत्पादन भएको राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिबेदनमा उल्लेख छ ।

२०६५ सालदेखि दाङमा सिमेन्ट उद्योग खुल्न थालेका हुन् । १० वर्षको अवधिमै सात सिमेन्ट उद्योग सञ्चालनमा आइसकेका छन् । जिल्लामा स्थापित उद्योग १ अर्बदेखि १३ अर्ब रुपैयाँसम्मको लगानीमा छन् । दाङको उत्तर दक्षिण पहाड चुनढुंगामय छन् । त्यहाँको चुनढुंगाले अहिलेका उद्योगलाई सयौं वर्षसम्म धान्न सक्ने सर्भेले देखाएको छ ।

जिल्लामा रहेको एक उद्योगले प्रयोग गर्ने चुनढुंगा खानी कम्तीमा पनि ५ सय वर्षलाई पुग्ने क्षेत्र रहेको सर्भेमा रहेका अधिकारीहरूले बताउने गरेका छन् । त्यसलाई देखेर पनि दाङमा सिमेन्ट उद्योग स्थापना हुने क्रम बढिरहेको छ। उद्योग स्थापना मात्रै होइन, दर्ताको क्रम पनि त्यत्तिकै छ ।

प्रकाशित मितिः     १४ फाल्गुन २०७५, मंगलवार ०८:१०  |