काठमाण्डौ : नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भारतीय मुद्रामा समेत ऋण ल्याउन पाउने भएका छन् । राष्ट्र बैंकले यस्तो कर्जा ल्याउँदा विभिन्न शर्तहरु जारी गरेको छ । आफ्नो पूँजीको शतप्रतिशत सम्म कर्जा ल्याउन पाउने गरी लगानीका क्षेत्र निर्धारण गरेको छ । बुधबार जारी गरेको सूचना अनुसार केन्द्रिय बैंकले विभन्नि शर्तहरु पुरा गरी ऋण ल्याउन सक्ने व्यवस्था गरेको छ ।
भारतीय मुद्रामा कर्जा ल्याउन राष्ट्र बैंकले तोकेको शर्तहरु
बैंक तथा वित्तीय संस्थाहरुले नवीकरणीय उर्जा, उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केवलकार, पुल जस्ता भौतिक क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रवन्ध गर्न भारतीय मुद्रामा आफ्नो प्राथमिक पूँजीको शत प्रतिशत सम्म कर्जा ल्याउन सक्ने छन् ।
बैंकले तोकेबमोजिमको पूँजीकोष कायम गरेका “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मात्र यस्तो ऋण लिन सक्ने छन् ।
ऋण लिनका लागि सञ्चालक समितिबाट निर्णय भएको हुनुपर्ने छ ।
ऋण दिने विदेशी बैंक तथा वित्तीय संस्थालाई अन्तर्राष्ट्रिय रुपमा वित्तीय कारोबार गर्नमा कुनै किसिमको बन्देज नलगाइएको हुनुपर्ने छ ।
यस्तो ऋणको भुक्तानी अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ५ वर्षसम्मको मात्र हुन पर्नेछ । तर, यस बैंकले स्वीकृति प्रदान गरेमा यस्तो ऋण नविकरण गर्न सकिनेछ ।
ऋणदाताले लगाउने अन्य सम्पूर्ण शुलक समेत गरी ऋणको अधिकतम ब्याजदरमा अधिकतम एक प्रतिशत भन्दा बढी नहुने गरी तय गरेको हुनु पर्नेछ । उक्त ब्याजदर बाहेक अन्य कुनै शुल्क,कमिशन दिन पाइने छैन् ।
ऋण ल्याउनका लागि कुनै किसिमको धितो, जमानत, बैंक ग्यारेन्टी दिन पाइने छैन् ।
ऋण ल्याउन बैंकबाट पूर्व स्वीकृति लिनुपर्ने छ । ऋण रकम ल्याइसकेपछि अनिवार्यरुपमा केन्द्रिय बैंकमा लेखांकन गराउनु पर्ने छ ।
ऋण रकम भित्र्याउँदा सम्पत्तिशुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको पूर्ण पालना गर्नुपर्नेछ ।