नेपालगन्ज : बिहे, पार्टी जस्ता पर्वका खानेकुरामा प्रयोग गरिने सुकमेलको मूल्य दोव्वरले बढेको छ । नेपालगन्जमा यतिबेला सुकमेल किन्नै मुस्किल पर्ने गरी महङ्गो भएको छ । सर्वसाधारणले ग्राम र पाउ मात्र किन्ने भएकाले पैसा बढेको महसुस नगरेपनि सुकमेलको मुल्य बढेको
छ ।
नेपालगन्ज रानीतलाउस्थित एक सुकमेल लगायतका सामाग्रीका बिक्रेता बरकती अलिका अनुसार एक हजार दुई सयमा बिक्री हुँदै आएको सुकमेल अहिले दोब्बरले बढेर दुई हजार चार सयसम्म पुगेको छ । होलसेलमा दुई हजार दुई सय र खुद्रा दुई हजार चार सयसम्म बिक्री भइरहेको अलिले बताए । ‘दोव्वरले मूल्य बढेको छ । केही महिना भयो बढेको मूल्यमा सुकमेल बिक्री गरिरहेका छौ’ – बरकत अलिले भने ।
सुकमेल लगायतका सामाग्रीको होलसेल बिक्रेता त्रिभुवनचोकस्थित कनोडिया इन्टरप्राईजेजका सन्चालक सन्तोष कनोडियाले बिदेशमा उत्पादनमा तलमाथि हुँदा सुकमेलको मूल्य घटबढ हुने गरेको जानकारी दिए । उनले भने,–‘सुकमेल नेपालमा उत्पादन हुँदैन । बिदेशबाटै आउँछ । त्यहाँ उत्पादनमा कमी आयो भने हाम्रोमा मूल्य बढ्छ ।’ सुकमेलको गुणस्तर धेरै हुने भएपनि ठुलो सुकमेलको मात्र मुल्य बढेको कनोडियाले बताए ।
सुकमेल मासुमा प्रयोग गरिन्छ । अपच भएका बेला सुकमेल, अदुवा तथा मरिच पिसेर खाए फाइदा हुन्छ । सुकमेल खाए सास गन्हाउने समस्या कम हुन्छ । यसले मुखमा भएका कीटाणु नाश गरी सासलाई ताजा बनाउँछ । सुकमेलको धूलो चियामा हालेर पिउँदा डिप्रेसनबाट जोगिन सकिन्छ । यसले अपच तथा टाउको दुख्ने समस्याबाट राहत दिन्छ । मुखको इन्फेक्सन वा टन्सिल भएका बेला सुकमेलको धूलो मनतातो पानीमा हालेर कुल्ला गर्नुपर्छ।