औद्योगिक कर्जा लगानीमा आठ मध्ये नेपालगन्ज क्षेत्र छैठौं स्थानमा, छ जिल्लामा बाँके पहिलो


नेपालगन्ज :  बैंक तथा वित्तीय संस्थाहरुको कुल औद्योगिक कर्जा लगानीमा नेपालगन्ज क्षेत्रले छैंठौ स्थान ओगटेको छ । बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, सल्यान र जुम्लालाई नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालयले हेर्दै आएको छ । राष्ट्र बैंकले वार्षिक आर्थिक गतिबिधि समेटेर सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालगन्ज क्षेत्रका यि जिल्लामा देशभरका बैंक तथा बित्तिय संस्थाहरुको कुल औद्योगिक कर्जाको ३.२ प्रतिशत अंश कर्जा प्रवाह हुने गरेको छ ।

बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, सल्यान र जुम्ला मध्येमा भने बँँकेमा सबैभन्दा धेरै कर्जा प्रवाह भएको छ ।  नेपालगन्ज भन्दा माथि काठमाण्डौ, बिराटनगर, पोखरा, बिरगन्ज, सिद्धार्थनगरक्षेत्र रहेको छ । नेपालगन्ज पछि धनगढी र जनकपुर छ ।  सबैभन्दा बढि काठमाडौं क्षेत्रको अंश ५८.९ प्रतिशत, विराटनगर क्षेत्रको अंश १०.५ प्रतिशत, वीरगञ्ज क्षेत्रको अंश १०.० प्रतिशत, सिद्धार्थनगर क्षेत्रको अंश ७.२ प्रतिशत, पोखरा क्षेत्रको अंश ६.२ प्रतिशत, नेपालगञ्ज क्षेत्रको अंश ३.२ प्रतिशत, धनगढी क्षेत्रको अंश २.१ प्रतिशत र जनकपुर क्षेत्रको अंश १.८ प्रतिशत रहेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडौं क्षेत्रमा रहेका र ठूलो कर्जा लगानी सम्बन्धी सम्पूर्ण अख्तियारी प्रायः केन्द्रीय कार्यालयमा रहने गरेकाले पनि कुल कर्जामा काठमाडौं क्षेत्रको अंश उच्च देखिएको हो ।

यसरी प्रवाहित कुल औद्योगिक कर्जामध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी अर्थात ४६.० प्रतिशत कर्जा प्रवाह भएको छ भने सबैभन्दा न्यून अर्थात ०.६ प्रतिशत कर्जा खानी सम्बन्धी उद्योगमा प्रवाह भएको छ । त्यसैगरी, निर्माण सम्बन्धी उद्योगमा २९.३ प्रतिशत, पर्यटन उद्योगमा १०.२ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगमा १०.१ प्रतिशत एवम् धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा ३.८ प्रतिशत कर्जा प्रवाह भएको छ । नेपालगन्ज क्षेत्रमा सबैभन्दा बढि उद्योग बाँके र दाङ्गमा रहेका छन् ।

आर्थिक वर्ष २०७४र२०७५ मा नेपालगन्ज क्षेत्र भित्र पर्ने बाँकेमा रु १४ अर्व ६० लाख कर्जा प्रवाह भएको थियो । त्यसपछि दाङ्गमा रु ६ अर्व ३८ करोड २० लाख कर्जा प्रवाह भएको थियो । बर्दियामा रु १ अर्व २० करोड ८० लाख, सुर्खेतमा रु २ अर्व ९५ लाख ८० हजार, सल्यानमा रु ४६ करोड ५० लाख र जुम्लामा रु २६ करोड ८० लाख कर्जा प्रवाह भएको थियो ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७५, बिहीबार १०:३४  |