नेपालगन्ज : करदाताको स्वयं कर सहभागिता अभिवृद्धि गर्ने अभिप्रायले विगतमा विविध कारणवश करको दायरामा नआएका र करको दायरामा आए पनि समयमा कर विवरण नबुझाएका करदाताहरुका लागि आर्थिक ऐन, २०७५ ले यसै वर्षको पौष मसान्तसम्मको समयावधी दिई विभिन्न छुट सुविधाहरु (-scheme_) को घोषणा गरेको थियो । उक्त छुट सुविधाहरुको व्यवस्था र सोमा सहभागिता जनाउने करदाताहरुको विवरण देहाय अनुसार रहेको छ ।
आर्थिक ऐन, २०७५ ले कुनै पनि व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए त्यस्ता व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७१/०७२, २०७२/०७३ र २०७३/०७४ को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर बुझाएमा सो बापत लाग्ने शुल्क तथा ब्याज र सोभन्दा अघिका आर्थिक वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज मिन्हा हुने व्यवस्था गरेकोमा यस अन्तर्गत ९४२१३ करदाता सहभागी भई स्थायी लेखा नम्बर लिएका छन।
त्यसैगरी, करको दायरामा आएका तर आर्थिक वर्ष २०७२/०७३ वा सो भन्दा अघिसम्मको आय विवरण पेश नगर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७१/७२ र २०७२/०७३ को आय विवरण र सोमा लाग्ने आयकर २०७५ साल पौष मसान्तसम्म बुझाएमा सोभन्दा अघिका वर्षहरुको आय विवरण पेश गर्नु नपर्ने तथा सोमा लाग्ने कर, शुल्क तथा ब्याज समेत मिन्हा हुने व्यवस्था अन्तर्गत ५२४८२ करदाताले सो सुविधाको उपयोग गरेका छन् । त्यस्तै, सम्बत २०७४ साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि करमा दर्ता भएका कुनै पनि करदाताले आफूले बुझाउनु पर्ने कर विवरण र मूल्य अभिवृद्धि कर रकम सम्वत २०७५ साल पौष मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर र ब्याज मिन्हा हुने
व्यवस्थामा ३५३०० करदाता सहभागी भएका छन ।
संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका सामाजिक संस्थाहरुले आर्थिक वर्ष २०७४÷७५ को आय विवरण तथा सो अनुसार लाग्ने कर सम्बत् २०७५साल पौष मसान्तभित्र बुझाएमा त्यस्ता संस्थाले आर्थिक वर्ष २०७४/७५ भन्दा अघिका वर्षहरुको कुनै पनि किसिमको विवरण, कर, जरिवाना, थप दस्तुर, शुल्क तथा व्याज बुझाउनु नपर्ने व्यवस्था अन्तर्गत ३६८ करदाता सहभागी भएका छन ।
यसैबीच, तोकिएको अवधिभित्र सरकारले उपलब्ध गराएको छुट तथा सुविधाको उपयोग गरी कर सहभागिता नजनाउने करदाताहरुउपर कानून बमोजिम छानविन, अनुसन्धान तथा कर परीक्षण गरी कर असुल गरिने व्यवस्था भएकोले जिम्मेवार नागरिकको कर्तव्य पालना नगर्ने तथा करको परिपालनामा समेत अटेर गरी बस्ने करदाताहरुलाई हदैसम्मको कारवाही गर्ने योजना अनुरुप आन्तरिक राजस्व विभागले तयारी शुरु गरेको छ ।
आन्तरिक राजश्व बिभागले प्रकाशन गर्ने कर बुलेटिनबाट साभार