‘कर कानूनलाई अटेर गर्ने करदाताहरु पहिचान गरी हदैसम्मको कानूनी कारवाही हुन्छ’


  • बिष्णुप्रसाद नेपाल
    महानिर्देशक, आन्तरिक राजश्व बिभाग

कर प्रशासनलाई आधुनिक, स्वच्छ, व्यावसायिक, मितव्ययी र करदातामैत्री बनाउदै प्रभावकारी सेवाको माध्यमबाट स्वेच्छिक कर सहभागिता वृद्धि गरी अधिकतम राजस्व परिचालन गर्ने ध्येय आन्तरिक राजस्व विभागको रहेको छ । कर प्रशासनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाई करदाताहरुमा सहज कर तिर्ने बानीको विकास गराउनु हाम्रो दायित्व र आम जनमानसको चाहना समेत हो । हामीले आर्थिक वर्ष २०७५÷७६ को पहिलो छ महिना पूरा गरिसकेका छौं । यस अवधिमा विगत वर्षको सोही अवधिको तुलनामा २१.५ प्रतिशतको वृद्धि हासिल गर्न सफल भएका छौं । विगतको सोही अवधिको तुलनामा राजस्वमा वृद्धिको अवस्था राम्रो छ तापनि चालू वर्षको लक्ष्य अनुसार प्रगति भने हासिल गर्न सकिएको छैन । राजस्व संकलनमा भएको योगदानका लागि करदाताहरु एवं लक्ष्य बमोजिम प्रगति हासिल गर्न सफल भएका कार्यालयहरुलाई धन्यवाद दिन चाहन्छु ।
वार्षिक लक्ष्य बमोजिम राजस्व असुली हुन नसकेका कार्यालयहरुले वस्तुनिष्ठ कार्ययोजना बनाई कर कानूनमा निर्दिष्ट भएका सवै व्यवस्थाहरुको प्रयोग गरी कर कानूनको परिपालना गराउने, बक्यौता असूली गर्ने र आगामी अवधिको लक्ष्य प्राप्तिमा थप क्रियाशिलता देखाई राजस्व संकलन लगायत अन्य कार्यगत परिसूचकहरुको वार्षिक लक्ष्य हासिल गर्न निर्देश गर्दछु । करदाताको स्वयं कर सहभागिता अभिवृद्धि गरी कर परिपालनाको लागतमा कमी ल्याउने तथा व्यावसायिक (एचयाभककष्यलब)ि ढंगले सेवा प्रवाह गरी गुणस्तरीय सेवाको सुनिश्चितताबाट समग्र कर प्रशासनप्रति सरोकार राख्ने आम जनमानसमा यस विभागको गरिमा उच्च बनाउन सकारात्मक एवं सहयोगी व्यवहार प्रदर्शन गर्न हामी सदैव क्रियाशील छौं । तथापि कानूनले गरेका व्यवस्थाहरुको परिपालनामा उदासीनता देखाइ नियमित रुपमा कर कानूनको परिपालनामा अटेर गर्ने, विवरण तथा कर नबुझाइ लामो समय देखि बक्यौता राख्ने, वास्तविक कारोवार नदेखाई कर छली गर्ने जस्ता कानूनले निषेध गरेका कार्य गर्ने करदाताहरुको सूचना तथा तथ्यांक विश्लेषण गरी छानविन परीक्षण एवं अनुसन्धान लगायत कानूनी कारवाही गरिनेछ । तसर्थ कर कानूनको परिपालना नगरी अटेर गर्ने करदाताहरु पहिचान गरी हदैसम्मको कानूनी कारवाही प्रकृया अगाडि वढाउन विभाग अन्तर्गतका सवै कार्यालय एवं कर अधिकृतहरुलाई निर्देश गर्दछु ।
यसका साथै कर कानूनको पूर्ण कार्यान्वयन र पालनामा उद्योगी, व्यवसायी, पेशाकर्मीलगायत सम्पूर्ण सरोकारवाला पक्षले आआफ्नो क्षेत्रवाट सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा गर्दछु । धन्यवाद !!

कर बुलेटिन, पुस अंकबाट साभार

प्रकाशित मितिः     २८ फाल्गुन २०७५, मंगलवार १८:२१  |